लघु बीमाको लाईसेन्स दिन अर्थको चेनअफ कमाण्डमा घुसपैठ, माफियासँगको सेटिङ तीन वटा लघुबीमाको लाईसेन्स दिने तयारी

१२ बैशाख २०७९, सोमबार ०८:४१

काठमाडौं । माफियासँगको सेटिङमा कम्तीमा तीन वटा लघुबीमा कम्पनीको लाईसेन्स वितरण गर्न अर्थ मन्त्रालय भन्दा बाहिरबाट बीमा समितिमाथि दवाव परेको छ । माफियाहरुको एउटा गिरोहले अर्थमन्त्रालयको चेन अफ कमाण्डमा घुसपैठ गरेर नयाँ लघुबीमाको लाईसेन्स दिने तयारी गरिरहेको हो । घुसपैठियाको दवावको आधारमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले लाईसेन्स वितरण सम्बन्धी काम अघि बढाउने तयारी गरिरहेको सूचना प्राप्त भएको छ ।

शेयर माफियासँग करोडौं सेटिङ अर्थ मन्त्रालयभन्दा बाहिर भइरहेको छ ।  बीमा समितिमा कम्तीमा तीन वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने तयारी भइरहेको छ । अर्थमन्त्रालयको चेन अफ कमाण्डमा घुसपैठ भइरहेको छ । अर्थमन्त्रालयका सचिव कृष्णहरि पुस्करले सेटिङमा थुप्रै विवादित निर्णयहरुमा मन्त्रालयलाई फसाइसकेका छन् । उनले नेतृत्वमा गठबन्धनको सरकार भएकोले केही कुरामा सम्झौता गर्नुपर्नेभन्दा घुपैठियासँगको मिलेमतोमा अनाधिकृत र गैर कानुनी काम समेत गर्दै आइरहेका छन् । पछिल्लो समय लघुबीमाको लाईसेन्सको सेटिङ पनि उनी मार्फत नै भइरहेको बुझिएको छ ।

गत वर्षदेखि चर्को रुपमा उठेको लाइसेन्सको विषय बीचमा हराएको थियो । अहिले चुनावको मौका छोपेर कमाउने दाउमा पल्केका घुसपैठियाहरुको योजनामा नयाँ लाइसेन्स वितरण सुरु गर्न लागिएको हो । नयाँ लाईसेन्स लिनको लागि बीमा समितिलाई थाहै नदिई काठमाडौंका महंगा होटलमा बसेर महंगो डिल भइरहेको छ । लघुवित्त कम्पनी जस्तै लघुबीमा कम्पनीको पनि शेयर मूल्य पाँच हजारसम्म पुग्ने भन्दै माफियाहरुले लाईसेन्सको लागि यस पटक निकै ठूलो दवाव सिर्जना गर्ने र चानचुने प्रयत्नबाट नरोकिने अवस्थामा पुगेको छ ।

सेटिङ र भ्रष्टाचारीहरुका जस्तोसुकै काम पनि सजिलै गर्ने बीमा समितिले यसअघि हिमालयन रि नामक पुनर्बीमा कम्पनी दर्ता गर्दा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलका लागि तीन अर्बको घुस जम्मा गरिएको थियो । अहिले पनि बीमा समितिले पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्बौ रुपैयाँ घुस रकमका लागि दर्ता गरेको कम्पनीको पक्षमा काम गरिरहेको छ । नियामक निकाय सरकारी बीमा समितिले सरकारी कम्पनी नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको सुविधा खोसेर हिमालय रिलाई दिन थालेपछि बीमा समितिका अध्यक्ष तथा उच्च पदस्थ कर्मचारीहरुका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आधा दर्जन भन्दा बढि उजुरी छन् । पूर्व सचिव समेत रहेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अख्तियारका प्रमुख आयुक्त पूर्व सचिव प्रेम राईसँग सेटिङ गरेको भएपनि प्रमुख आयुक्त राई बाहिरिने वित्तिकै बीमा समितिका अध्यक्ष तथा कर्मचारीहरु अनुसन्धानको दायरामा पर्ने निश्चित छ ।

उतिबेलाका अर्थमन्त्री विष्णु पौडेल आफै संलग्न भएर हिमालयन रि नामक पुनर्बीमा कम्पनी दर्ता गरेको भएपनि यस पटक भने अर्थ मन्त्रालयको चेन अफ कमाण्ड भन्दा बाहिरबाट लघुबीमा कम्पनी दर्ता गर्न सेटिङ भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले कुनै पनि लाइसेन्स वितरण नगर्ने स्पष्ट अडान राख्दै आएका छन् । निर्वाचनको मिति घोषणा भइसकेको समयमा निर्वाचन अर्थमन्त्री शर्मालाई समेत बद्नाम गर्ने नियतले माओवादीका विद्यार्थी नेता समेतको संलग्नतामा नयाँ लघुबीमा कम्पनीको लाईसेन्स वितरण प्रयत्न हुनुले सिंगो उज्यालोका नायक अर्थमन्त्री शर्माको मान, इमान र इज्जत भुईमा पछार्ने बाहेकको कुनै उपलब्धी हुनेछैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*