प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पूँजी बृद्धि र लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रुडेन्सिय इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं साधारण सभा सम्पन्न भएको छ । सभा आज पर्सा दियालो लर्डस प्लाजा वीरगञ्जमा सम्पन्न भएको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी १ अर्ब रुपैयाँ १० करोड ८५ लाख रुपैयाँबाट बृद्धि गरी १ अर्ब १८ करोड ६१ लाख रुपैयाँ कायम गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी उक्त सभाले पारित गरेको छ ।
यसबाहेक आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत २४ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यस अनुसार २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।