राष्ट्र बैंकद्धारा सूचना चुहाएर एलसीमा कडाई, एकै महिनामा आयो सात अर्बको मोबाईल आयात

१० बैशाख २०७९, शनिबार ०६:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको आर्थिक संकट मोचनका लागि एलसी बन्द गर्नुअघि सूचना चुहाएको आशंका गरिएकोछ । चैत्र महिनामा मात्रै तीन महिनालाई पुग्ने मोबाईलको एलसी खोलिएपछि यस्तो आशंका गरिएको हो ।

भन्सार विभागका अनुसार गत भदौंदेखि नै ओरालो लागेको मोबाइल आयात गत चैत्रमा चमत्कारिक रुपमा बृद्धि भएको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय गत फागुन महिनामा दुई अर्ब ६० करोड रुपैयाँको मोबाईल आयात भएकोमा चैत्रमा यस्तो आयात बृद्धि भई साढे सात अर्बभन्दा बढिको मोबाईल आयात भएको छ ।

दशैंमा समेत जम्मा पाँच अर्बको मोबाईल आयात हुनेमा पछिल्लो समय बैंकले शत प्रतिशत मार्जिन लगाउँदा समेत यति धेरै आयात भएको हो । यसरी ह्वात्तै आयात बढ्नुका पछाडि नेपाल राष्ट्र बैंकबाट सूचना चुहिएको आशंका गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले काम गर्न नसकेको आरोप लगाउँदै छानविन समिति गठन गरिसकेको छ । यद्यपि सो छानविन १३ गतेसम्म स्थगित गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

मोबाईल व्यवसायीहरुले एकै पटक ठूलो मात्रामा आयात बढाउँदा मुलुकबाट ठूलो मात्रामा विदेशी डलर बाहिरिएको छ । सूचना चुहिएपछि आयातमा प्रतिबन्ध लागेको अवस्थामा मोबाईलको हाहाकार हुनसक्ने भएकोले व्यवसायीहरुले रातारात एलसी खोलेर मोबाईल झिकाएको अनुमान गरिएको छ ।

आर्थिक संकटका कारण पछिल्लो समय मोबाईल बिक्री खासै नभए पनि व्यवसायीहरुले करिब तीन महिना मोबाईल अभाव नहुने गरी स्टक गरेको पाइएको छ । एलसी बन्द हुनुअघि अकारण ह्वात्तै चुलिएको मोबाईल आयातबारे छानविन गर्नुपर्ने माग उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*