विकास बैंकहरुको खुद नाफा १० प्रतिशतले बढ्यो, कुन बैंकको नाफा कति ?
काठमाडौं । विकास बैंकहरुले चालू आर्थिक वर्षको तेस्रौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । चैत मसान्तसम्म बैंकहरूले ५ अर्ब रुपैयाँ खुद नाफा गर्न सफल भएका छन् । गत वर्ष यसै समयमा बैंकहरूले ४ अर्ब ४९ करोड ९१ हजार रुपैयाँ खुद मुनाफा गरेका थिए । जुन नाफा गत वर्षको तुलनामा ५० करोड रुपैयाँ अर्थात ९ दशमलव ६८ प्रतिशतले बढी हो ।मुक्तिनाथ विकास बैंकले १ अर्ब रुपैयाँ बढी खुदनाफा गरेका छ ।
मुक्तिनाथले सिभिल बैंक र बैंक अफ काठमाण्डूलाई नाफामा पछि पारेको छ । चैत मसान्तमा ८ विकास बैंकको नाफा ४ अर्ब ९३ करोड ५९ लाख ६२ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा २ बैंकको नाफा भने घटेको छ भने अन्य ६ वटाको नाफा वृद्धि भएको छ ।
कामना सेवा विकास बैंक र ज्योति विकास बैंकबाहेक अन्य बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी महालक्ष्मी बैंकको नाफा ७६.९७ प्रतिशतले बढेको छ । १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक मात्र छ ।
नाफा बढाउने विकास बैंक
आठ विकास बैंकमध्ये ६ बैंकको नाफा बढ्दा कामना सेवा विकास बैंक र ज्योति विकास बैंकको घटेको छ । मुक्तिनाथ, गरिमा, महालक्ष्मी, लम्बिनी, साइन रेसुंगा र सांग्रिलाको नाफा बढेको छ ।
मुक्तिनाथको नाफा १.४९ प्रतिशतले बढेर १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ६ वटाको नाफा बढेको छ भने २ को नाफा घटेको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । यसको खुद नाफा ७६.९८ प्रतिशतले बढेर ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
ज्योति विकास बैंकको नाफा १४.४० प्रतिशतले घटेर ५१ करोड ५७ लाख ३२ हजार रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ६० करोड २५ लाख १२ हजार रुपैयाँ थियो ।
कामना विकास बैंकको नाफा १३.९५ प्रतिशतले घटेर ५० करोड ४५ लाख ३३ हजार रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ थियो ।
प्रतिसेयर आम्दानीमा मुक्तिनाथ आगाडि
बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा प्रतिसेयर आम्दानीमा पहिलो नम्बरमा मुक्तिनाथ अग्रस्थानमा रहेको छ ।
मुक्तिनाथको प्रतिसेयर आम्दानी ३६ पैसाले बढेर २४ रुपैयाँ ६ पैसा पुगेको छ । त्यस्तै, महालक्ष्मीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ ७४ पैसा र लुम्बिनी विकास बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर २० रुपैयाँ ७३ पैसा पुगेको छ ।
त्यस्तै, गरिमा, ज्योति, साइन रेसुंगा, सांग्रिला र कामना सेवाको प्रतिसेयर आम्दानी घटेको छ । यस अवधिमा गरिमा विकास बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेर २२ रुपैयाँ ४४ पैशामा झरेको छ ।
ज्योतिको ४ रुपैयाँ ७८ रुपैयाँले घटेर १६ रुपैयाँ ११ पैसा, साइनको ४५ पैसाले घटेर १७ रुपैयाँ ९ पैसा, सांग्रिलाको २४ पैसाले घटेर १७ रुपैयाँ ७५ पैसा र कामनाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६ पैसाले घटेर २२ रुपैयाँ ४४ पैसामा झरेको छ ।