सीमा क्षेत्रमा अझै रोकिएन क्रसबोर्डर बीमा कारोबार, नेपाल छिरेर भारतीय कम्पनीले गर्दैछन् व्यवसाय

रिना खत्री
८ बैशाख २०७९, बिहीबार १३:१०

काठमाडौं । नेपालमा पर्याप्त बीमा कम्पनीहरू भए पनि नेपालीले सीमावर्ती भारतीय सहरका कम्पनीमा बीमा गर्ने क्रम भने अझै पनि रोकिएको छैन । नेपालको कानुन बन्देज गरे पनि नेपालमै बस्ने नागरिकले विदेशी कम्पनीहरूमा बीमा गर्ने गरेको पाईएको छ ।

खुल्ला सिमानाको कारण पनि यो समस्या विकराल रहेको बीमा कम्पनीहरुका अधिकारीहरु बताँउछन् । नेपालमै बीमा गराउँदा राजस्व छुट सुविधा पाउने जानकारी दिँदा पनि भारतीय बीमा गराउनेको सङख्या भने घट्न नसकेको सिमाना नजिक रहेका शाखा कार्यलयहरुको गुनासो रहेको छ ।

अनौपचारिक माध्यमबाट हुने यस्तो बीमाले नेपालीहरू ठगिने सम्भावना मात्र नभई सरकारको राजस्वमा समेत नोक्सान हुने गरेको छ । नेपालमा व्यावसायिक रूपमा बीमा कम्पनीहरू स्थापित नहुँदासम्म भारतीय कम्पनीहरूको नै रजाई रहेको थियो । भारतीय कम्पनीका अभिकर्ताहरूले नेपालमा खुल्ला रूपमै काम गर्ने गर्थे । तर, नेपालमै जीवन बीमा कम्पनीहरूको स्थापना भएपछि भने यो क्रम घटेको बीमा विज्ञ भोजराज शर्माले बताए । “पहिला क्रसबोर्डर बीमाको अवस्था विकराल थियो, अहिले भने केही कमी आएको छ । तर, पूर्ण रूपमा निर्मूल भने भइसकेको छैन,” उनले भने ।

क्रस बोर्डर बीमा गर्न बीमा ऐनले बन्देज गरेको छ । तर, अझै पनि लुकिछिपी छिमेकी मुलुकमा सञ्चालित कम्पनीहरूसँग बीमा गर्ने क्रम रहेको बीमाविज्ञ शर्माले बताए । “विशेषगरी व्यापारीहरूले भारतमा संचालित बीमा कम्पनीसँग (नेपालमा कार्यालय नभएका) बीमा गराएको सुनिन्छ ।

यसरी बीमा गर्ने १÷२ प्रतिशत होलान्,” उनले भने । साधारणतया नेपाल र भारतको सीमा क्षेत्रमा बसोबास गर्ने मानिसले भारतीय बीमा कम्पनीमा बीमा गराउनु सामान्य मानिन्छ ।
पहिलो कुरा त नेपालका बीमा कम्पनी भन्दा भारतमा नै सञ्चालन भएका बीमा कम्पनीको बोनसदर कम छ । दोस्रो कुरा नेपाली रूपैयाँ भन्दा भारतीय रूपैयाँ बलियो हुनाले बीमाशुल्क बढी भुक्तान गर्नुपर्छ । अझ भारु अभाव हुँदा त थप शुल्क तिरेर नोट साट्नु पर्ने हुन्छ,” उनले भने ।

नेपालमा नै बलिया र सक्षम कम्पनीहरू स्थापना भइसक्दा पनि मुलुकबाहिर रहेका कम्पनीहरूमा बीमागराउनु दुःखदायी कुरा भएको पेशागत बीमा अभिकर्ता संघका कार्यवाहक अध्यक्ष नन्दप्रसाद तिवारीले बताए ।
“अझै पनि ठूलाठूला बीमा नेपालबाट बाहिर गइरहेको सत्य हो,” उनले भने । भारतमा नै संचालन भएका बीमा कम्पनीमा काम गर्ने नेपाली अभिकर्तामार्फत यस्तो बीमा भएको सरोकारवालाहरू बताउँछन् । भारतसँगको सीमा क्षेत्रमा अझै भारतीय कम्पनीको पनि बीमा भईरहेको एशियन लाइफका अभिकर्ता राजु शाहले बीमापोष्टलाई बताए । तर भारतको तुलनामा भने निकै नै न्यून मात्रामा मात्र बीमा भएको उनले दावी गरे ।
त्यस्तै, सिमाना नजिकै रहेका कम्पनीहरुले नेपालमा बीमा गराउन पर्याप्त कम्पनीहरु भएपनि अझै पनि भारतमा नै बीमा गराउने बीमितहरुको सङख्या भने नघटेको बताँउछन् ।
भारतीय बीमा अभिकर्ताहरुले खुल्ला सिमानाका कारण सहजै रुपमा बीमा गराउन नेपाल प्रवेश गरिरहेको हुँदा यसमा नियामक निकायको ध्यान जानु जरुरी रहेको उनीहरु बताँउछन् । यसको मुख्य कारण नेपालीमा बीमासम्बन्धी चेतनाको अभाव भएको उनीहरू बताउँछन् ।
नेपालीहरूलाई बीमा केका लागि र किन गर्दैछु भन्ने विषयको नै ज्ञान हुँदैन । त्यसैले अभिकर्ताले भनेकै आधारमा मात्रै विश्वास गरेर बीमा गर्दा मुलुक बाहिरका कम्पनीमा बीमा गर्न पुग्ने गरेको विज्ञहरू बताउँछन् ।
बीमा ऐन अनुसार नेपालमा बीमा व्यवसाय गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीले बीमा समितिसँग स्वीकृति लिनुपर्नेछ । अर्थात् नेपालमा कम्पनी संचालनका लागि अनुमति नलिएका कम्पनीले नेपालमा बीमा गर्न पाउँदैनन् । तर, यसरी भइरहेको बीमाको औपचारिक तथ्याङ्क नहुने हुँदा यसलाई नियन्त्रण गर्ने संयन्त्रको विकास पनि हुन सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*