गभर्नर अधिकारीलाई पुनर्बहाली गर्ने न्यायाधिश फुँयाल को हुन ?

७ बैशाख २०७९, बुधबार १६:३२

काठमाडौं । सरकारले गत चैत्र २४ गते छानविन समिति गठन गरेपछि निलम्वनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हिजो सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ ।

पुनर्बहाली पाएसँगै गभर्नर अधिकारी आज बाजागाजा सहित नेपाल राष्ट्र बैंक फर्केका छन् । उनको पुनर्बहालीमा एमालेजनहरुले भव्य खुशी मनाएका छन् भने कान्तिपुर मिडियाले सम्पादकीय मार्फत अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेको छ । त्यस्तै एमालेका कार्यकर्ताहरुले पनि सामाजिक सञ्जालमा अर्थमन्त्रीको राजिनामा माग्दै स्टाटसहरु लेखेका छन् ।

आगामी बैशाख १३ गते अन्तरिम आदेशलाई जारी राख्ने वा नराख्ने भन्ने बहस हुँदाका बखतसम्मका लागि पुुनः बहाली भएपनि गभर्नर अधिकारी भने मुद्दा जिते झै गरी राष्ट्र बैंक फर्केपछि विशेष गरी अर्थमन्त्रालयको नेतृत्वमाथि प्रहार भइरहेको छ । हिजो जारी आदेश अन्तिम आदेश भने होइन । अल्पकालिन आदेश हो, १३ गते पछि के हुुन्छ ? त्यो कुरा कसैलाई पनि थाहा छैन ।

अब प्रश्न उठेको छ आखिर को हुन ? गभर्नर अधिकारीलाई पुनर्बहाली गर्ने न्यायाधिश हरि प्रसाद फुँयाल ? सर्वोच्च अदालतमा न्यायाधिश बन्नु अघि फुँयाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कानुनी सल्लाहकार थिए । २०७२ सालमा पहिलो पटक केपी ओली प्रधानमन्त्री बन्दा फुँयाल महान्यायाधिवक्ता बनेर सरकारको काम गरेका थिए । फुँयाललाई २०७३ बैशाख ५ गतेको मन्त्रिपरिषदको बैठकबाट तत्कालिन प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

न्यायाधिश फुँयालको कनेक्सन पूूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग मात्रै छैन कान्तिपुरसँग पनि छ । कान्तिपुर मिडिया हाउसले सञ्चालन गरेको कान्तिपुर टिभीमा २०६५ सालमा ‘मिशन संविधानसभा’ नामक सप्ताहिक कार्यक्रमको प्रस्तोता थिए । त्यतिबेला उनले संविधान निर्माणको प्रक्रिया, संविधान मस्यौदाबारे सभासद तथा सरोकारवालासँग छलफल गरेको टिभी शो तयार पार्दथे ।

लामो समय कान्तिपुर टिभीमा काम गरेका फुँयाल राष्ट्रिय मानव अधिकार आयोगको सदस्य सचिव सुशिल प्याकुरेल सल्लाहकार भएर काम गरेका थिए । प्याकुरेल एमालेका एनजिओहरु चलाउने मुख्य नेता हुन् ।
बैशाख ६ गते सर्वोच्च अदालतमा न्यायाधिश फुँयालको दुई वटा इजलाश बनाइएको थियो । मंगलबार ७ नं इजलाश न्यायाधिश अनिल कुमार सिन्हा र हरि प्रसाद फुँयालको थियो । सो इजलाशमा २५ वटा मुद्दाहरु थिए । त्यस्तै मंगलबार नै ९ नं इजलाशमा फुँयालको एकल इजलाश थियो । सो इजलाशमा चार वटा मुद्दाहरु थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*