मधेस प्रदेशमा आजदेखि सातौँ कृषि गणना सुरु

६ बैशाख २०७९, मंगलवार २३:१४

जनकपुर । धनुषासहित मधेस प्रदेशका जिल्लाहरुमा आजदेखि सातौँ कृषि गणना सुरु भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी सुरु भएको कृषि गणना आगामी जेठ १९ सम्म चल्नेछ ।

कृषि गणनाका लागि धनुषामा ३४ सुपरिवेक्षक तथा १३३ गणक गरी १६७ जना कर्मचारी परिचालन गरिएको मधेस प्रदेश कृषि गणना कार्यालय धनुषाका प्रमुख विमलकुमार यादवले जानकारी दिनुभयो । तथ्याङ्क विभागले निर्धारण गरेको धनुषाको १८ वटै पालिकाका ३७९ गणक क्षेत्रमा कृषि गणना गरिने प्रमुख यादवले बताउनुभयो ।

कृषि क्षेत्रको वास्तविक तथ्याङ्क सङ्कलन गर्दै यसको आधुनिकीकरण एवं व्यावसायीकरणलाई समेत जोड दिने सरकारको लक्ष्यअनुरूप २०७८ चैत २५ देखि वैशाख २ गतेसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो । गणनाअन्तर्गत कृषक परिवारले चलन गरेको जग्गाको उपभोक्ता र उपयोग, कित्ताको वितरण, सिँचाइ गरेको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन र कन्दमूल, तेल, नगदे, मसला बाली, फलफूललगायतले ओगटेको क्षेत्रफल तथा प्रमुख बालीको उत्पादन, बीउबिजन, विषादी र मलखादको प्रयोग सम्बन्धमा तथ्याङ्क लिइने छ ।

उहाँका अनुसार कृषि गणनाबाट प्राप्त तथ्याङ्कको प्रयोगले सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकास एवं समृद्धिका लागि मद्दत पुग्ने विश्वासका साथ परिवार र समुदायमा आधारित कृषि कार्यमा काम अतिरिक्त सरकारी, अर्धसरकारी, सहकारी र संस्थागतरूपले सञ्चालन गरेका व्यावसायिक कृषि कार्यको पनि तथ्याङ्क सङ्कलन गरिने प्रमुख यादवको भनाइ छ ।

आठ धुर क्षेत्रलफल बाली लगाएको भएमा वा जुनसुकै उमेरका कम्तीमा एउटा गाई, भँैसीजस्ता ठूला चौपाया पालेको भएमा तथा पाँचवटा भेडाबाख्राजस्ता साना चौपाया पालेको भएमा एवं माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी पालेको भएमा गणनामा समेटिने भएको प्रमुख यादवले बताउनुभयो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*