राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धमा सानिमा क्यापिटल नियुक्त
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशनको लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले निष्काशन गर्न लागेको ‘आरबीबीएल डिबेञ्चर, २०८९’ नामको ऋणपत्रको लागि बिक्री प्रबन्धक चयन गरेको हो ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात बैंकको ऋणपत्र निष्काशन सम्बन्धि सम्पूर्ण कार्य अब सानिमा क्यापिटलले गर्नेछ ।
बैंकले प्रतिइकाइ अंकित मूल्य १ हजार रुपैयाँका दरले कुल ५ अर्ब रुपैयाँ (५० लाख इकाइ) मूल्यबराबरको १० वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।
यो ऋणपत्रको कुल ५० लाख इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट संगठित संस्थाहरुलाई बिक्री गरिनेछ भने २० लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिनेछ ।