आइपीओ जारी गरेको सिवाईसी नेपाल लघुवित्तको नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?

५ बैशाख २०७९, सोमबार १२:५३

काठमाडौं । वैशाख २ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)निष्काशन गरेको सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य बृद्धि गरेको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले ९ करोड ९९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ४ करोड ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै समिक्षा अवधिसम्ममा संस्थाले खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य बृद्धि गरेको छ । खुद ब्याज आम्दानी ५५.३१ प्रतिशत र संचालन नाफा १०१ प्रतिशतले बढेको छ । यसकारण कम्पनीको खुद नाफामा उल्लेख्य बृद्धि भएको हो ।

चालु आवको तेस्रो त्रैमासम्ममा खुद ब्याज आम्दानी १५ करोड ७७ लाख रुपैयाँ र संचालन नाफा ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिसम्ममा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट एक अर्ब ४६ करोड ५० लाख रुपैयाँ सापटी लिई ३ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने निक्षेप संकलन एक अर्ब २६ करोड ४६ लाख रुपैयाँ गरेको छ ।

चैत मसान्तसम्ममा संस्थाको चुक्तापूँजी बढेर ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको छ भने कम्पनीले यस अवधिसम्ममा जगेडा कोषमा ३० करोड रुपैयाँ संचित गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*