नयाँ वर्षको पहिलो दिन २९ अंकले घट्यो नेप्से, कारोबारमा देखिएन सुधार
काठमाडौं । नयाँ वर्ष २०७९ सालको शेयरबजार कारोबारको आज पहिलो दिन नै नेप्से परिसूचक २९.६० अंकले घट्न पुगेको छ । २०७८ सालको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा नयाँ साल सुरु भएपनि खासै बजारमा सुधार देखिएको छैन ।
आज नेप्सेमा सूचकिृत २३३ कम्पनीको ३३ लाख ३० हजार ८३४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६१ लाख २ हजार ४६४ रुपैयाँको कारोबार भएको छ ।
केही दिनयता लगातार घटेको शेयरबजार नयाँ वर्ष सुरु भएसँगै बजार बढ्ने प्रक्षेपण गरिएतापनि देशमा चुलिँदै गइरहेको आर्थिक संकटका कारण शेयरबजार घट्दो क्रम रोकिएको छैन ।
नेप्से परिसूचक आज १.२३ प्रतिशतले घटेर २३८५.६४ विन्दुमा कायम भएको छ । गत वर्षको साउन भदौ महिनामा करिब ३२ सयको इन्डेक्समा पुगेको नेप्से त्यसलगत्तै यता २४।२५ सयको इन्डेक्समा सीमित हुन पुगेको छ ।
नेप्सेमा रहेको १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक आज बीमा सूचकमा गिरावट आएको देखिएको छ । जीवन बीमा समूहको २००.८७ रुपैयाँ र निर्जिबन बीमा समूहको १२०.६५ अंकले घटेको छ ।