गभर्नर निलम्वनको विरोधमा राष्ट्र बैंकमा कोणसभा

४ बैशाख २०७९, आईतवार १३:२२

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा कोणसभाको आयोजना गरेको छ । संघले आइतबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै निलम्बनको विरोध गरेको हो ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ ‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर’, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारी माथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर’ र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराका साथ कालोझण्डामा समावेश गरी संघले विरोध गरेको हो ।

 

कालो ब्यानर झुण्डाउनु अघि नेपाल राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले जब जब राज्य संचालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन् तब तब नेपाल राष्ट्र बैंकको नेतृत्वमाथी आक्रमणहरु हुने गरेको बताए ।

साथै तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्वमाथी हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधका कार्यक्रमहरुमा उत्रने गरेको बताउँदै गभर्नर माथि गरिएको कारबाही फिर्ता लिन नेपाल सरकारलार्य अनुरोध गरेका छन् ।

उक्त विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, बरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, समासचिव शंकर प्रसाद भट्टराई लगायतका संघका केन्द्रीय समितिको पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारीहरु तथा सदस्यहरु, सम्पूर्ण साधारण सदस्य, समर्थक तथा आम कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

चैत २४ गते सरकारले गभर्नर अधिकारीलाई पदमुक्त गर्न प्रक्रिया अघि बढाउँदै जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंकको ऐनअनुसार उनी स्वतः निलम्बनमा परेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*