गभर्नर बन्नका लागि शक्तिकेन्द्रमा दौडधुप, को को छन् आकांक्षी ?

३ बैशाख २०७९, शनिबार ०९:२३

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर छानविन सुरु गरेसँगै गभर्नर बन्नका लागि भागदौड सुरु भएको छ । रिक्त हुने गभर्नर पदका लागि शक्तिकेन्द्रमा धाएर वातावरण बनाउन करिब एक दर्जन व्यक्तिहरु सक्रिय भएर लागेका छन् ।

२०७८ चैत २४ गते बिहिबार मन्त्रिपरिषदले गभर्नर महा प्रसाद अधिकारीको सम्बन्धमा छानविन गर्न गभर्नर अधिकारीमाथि छानविन गर्न समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन् । गभर्नर निलम्वनमा परेसँगै नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्र सम्बद्ध व्यक्तिहरु गभर्नर बन्न दौडधुप सुरु गरेका हुन् ।

गभर्नरको पद रिक्त नभई गभर्नर बन्ने लाईनमा केही व्यक्तिहरुले दौडधुप सुरु गरिसकेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवा निकट विश्वम्भर प्याकुरेलले लविङ सुरु गरिसकेका छन् । त्यस्तै, लगानी बोर्डका सुशिल भट्टले माफियासँगको सेटिङमा गभर्नर बन्न लविङ सुरु गरेका छन् । त्यस्तै माधव कुमार नेपालको तर्फबाट कृष्ण आचार्यको नाम पनि चर्चामा छ । त्यस्तै, देउवासँग विशेष सम्बन्ध भएका चिरञ्जीवी नेपालको नाम बजारमा चर्चा हुन थालेको छ ।

नेकपा (एकिकृत समाजवादी) का तर्फबाट त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रिय विभागका सह प्राध्यापक डा. रमेश पौडेलको नाम पनि सुनिन थालेको छ । त्यस्तै नेपाली कांग्रेस निकट तथा विगतमा ओली सरकारको पालामा राष्ट्र बैंकमा कारवाहीको प्रयास भई बचेका शिवराज श्रेष्ठ समेतको नाम गभर्नरको रुपमा चर्चामा छ । छनौट समिति गठन हुँदाका बखत निमित्त गभर्नरको जिम्मेवारीमा रहेकी निलम ढुंगना र अर्का डेपुटी गभर्नर बम बहादुर मिश्र स्वभाविक दावेदार हुन् ।

गभर्नर पद रिक्त हुने भएपछि विभिन्न स्वार्थ समुहहरुले पनि आ–आफ्नै तयारी सुरु गरिरहेका छन् । सरकार भन्दा शक्तिशाली माफियाहरुले सेटिङमा आफ्नो मान्छेलाई गभर्नर बनाउन छलफल सुरु गरेको जनाइएको छ ।

उता, गभर्नर नियुक्तीबारे अर्थमन्त्रालयमा भने छलफल भएको छैन । अहिले गभर्नर अधिकारीको छानविन बाँकी रहेको निर्वाचन आचार संहिता लागू हुने कारणले जेठ नलागी नयाँ गभर्नर नियुक्त नगर्ने बरु अहिलेलाई राष्ट्र बैंककै डेपुटी गभर्नर निलम ढुंगानामार्फत प्रभावकारी काम लिने रणनीतिमा देखिन्छ ।

अर्थविदहरु पनि मुलुक आर्थिक संकटतर्फ उन्मुख भइरहेकोले अहिले टेष्ट गर्ने समय नभएकोले एक्सन लिनसक्ने अनुभवी व्यक्तिलाई गभर्नर बनाउनुपर्ने तर्कहरु अघि सारेका छन् । प्राध्यापकहरुबाट भन्दा राष्ट्र बैंकमै काम गरिसकेको अनुभवी व्यक्तिलाई गभर्नर बनाउन सकेमा अर्थतन्त्रका लुपहोलहरु सबै थाहा हुने र एक्सन प्लान बनाएर रेस्क्यु गर्न सम्भव हुने सुझाव विज्ञहरुको छ । हालसम्म अर्थमन्त्रालयले नयाँ गभर्नरबारे सोचिनसकेकोले अहिले चर्चा भइरहेका नाम र गभर्नर पद रिक्त भयो भने त्यस्तो बेलामा गभर्नर छनौट समितिले छान्ने नाममा धेरै फरक पर्न सक्नेछ ।

नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तीका लागि मन्त्रिपरिषदले अर्थमन्त्रीको संयोजकत्वमा छनौट कमिटी बनाउँछ । सोही कमिटीले तीन जनाको नाम सिफारिस गर्ने र सोही तीन जनामध्येबाट मन्त्रिपरिषदबाट एक जनालाई गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*