बैशाख ११ गतेदेखि बिन्ध्यबासिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

२ बैशाख २०७९, शुक्रबार ११:१२

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री गर्ने भएको हो ।

उक्त आईपीओमा छिटोमा बैशाख २५ गते र ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*