निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ३ अर्ब, बागमती प्रदेशमा सबैभन्दा धेरै

२४ चैत्र २०७८, बिहीबार १५:३९

काठमाडौं । चालु आर्थिक वर्षको फागुनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ ।

समितिको तथ्यांक अनुसार मोटर बीमाबाट फागुन महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ३२ प्रतिशत हो ।

मोटर बीमा पछि निर्जीवन बीमा कम्पनीहरुले सम्पती बीमाबाट ७१ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमाहरुले आर्जन गरेको कुल बीमाशुल्कको २० प्रतिशत हुन आउछ ।

यस्तै निर्जीवन बीमा कम्पनीले आर्जन गरेको कुल बीमाशुल्कमा हवाई बीमाको १७ प्रतिशत, इन्जिनियरिङ्ग बीमाको १० प्रतिशत, विविध बीमाको ८ प्रतिशत, कृषि तथा पशुपन्क्षी बीमाको ७ प्रतिशत र सामुद्रिक बीमाको ६ प्रतिशत योगदान रहेको छ ।

लघुबीमाको भने सबैभन्दा कम ०.१५ प्रतिशत मात्रै योगदान रहेको छ । लघुबीमा वापत निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा ५१ लाख ६१ हजार रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको छ ।मोटर बीमाले ठूलो हिस्सा ओगटेको निर्जीवन बीमा व्यवसाय बागमति प्रदेशमा मात्रै केन्द्रित भएको पाइएको छ । समितिको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले बागमति प्रदेशबाट मात्रै २ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो कुल बीमाशुल्कको ६६.८३ प्रतिशत हो ।

बागमति प्रदेशपछि प्रदेश १ मा निर्जीवन बीमा व्यवसाय विस्तार भएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रदेश १ बाट ३२ करोड रुपैयाँ अर्थात ९.२७ प्रतिशत कुल बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै लुम्बिनी प्रदेशबाट पनि निर्जीवन बीमा कम्पनीहरुले २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो फागुन महिनामा आर्जन गरेको कुल बीमाशुल्कको ८.४४ प्रतिशत हुन्छ ।
निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमा मधेश प्रदेशको ५.९० प्रतिशत, गण्डकी प्रदेशको ५.७१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.३९ प्रतिशत योगदान रहेको छ ।
सबैभन्दा कम बीमाशुल्क भने कर्णाली प्रदेशबाट संकलन भएको छ । कर्णाली प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले ५ करोड ८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो कुल बीमाशुल्कको १.४६ प्रतिशत मात्रै हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*