बिचौलियाको काम गर्दै सर्भेयर, घुस लिएर क्षति मूल्याङ्कन गर्ने धन्दा फस्टाउँदै

२४ चैत्र २०७८, बिहीबार ०९:४३

काठमाडौं । नेपाली निर्जिवन बीमा बजार समयमा दावी भुक्तानी नदिने र दावी भुक्तानीको लागि घुस दिनुपर्ने अवस्था रहेको बीमितहरुले पटक पटक गुनासो गर्दै आएका छन् । नियामक निकाय बीमा समितिले देशव्यापी रुपमा सञ्चालन गरेको स्थानीय सरकारसँगको बीमा सचेतना कार्यक्रमहरुमा समेत बीमितहरुले समयमा दावी भुक्तानी नपाएको तथा क्षति मूल्याङ्कनमा समस्या रहेको गुनासोहरु पटक पटक आउने गरेको छ ।

पछिल्लो पटक स्वतन्त्र र निष्पक्ष भनिएका बीमा सर्भेयर नै बीमक कम्पनीको पक्षमा लागेर मुद्दा जिताउन उच्च अदालतको इजलासमै उपस्थित भएपछि बीमा सर्भेयरको भूमिकामाथि प्रश्न चिन्ह उठेको छ । बीमा समितिले सर्भेयरलाई बीमा कम्पनीले नियुक्त गर्ने भएपनि दुवै मध्ये कसैको पनि पक्षमा नलागी काम गर्नुपर्ने बताउँदै आएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भन्छन्, बीमा सर्भेयरले कुनै पनि पक्षमा उभिनु हुँदैन, सर्भेयरहरु स्वतन्त्र हुनुपर्दछ । उनीहरुको गुणस्तरीय प्रतिवेदन तयार पार्नुपर्दछ ।’

बीमा समितिले भनेको जस्तो बीमा सर्भेयरको काम भइरहे पनि धेरै बीमितहरुको गुनासो छ, सर्भेयरहरुले घुस नपाए बीमा क्षति मूल्याङ्कन नै घटाईदिने र घुस पाएर खुशी भएमा बीमा क्षति मूल्याङ्कन बढाउन पनि तयार हुने गर्दछन् । बीमा सर्भेयरहरुले क्षति मूल्याङ्कन बढाउँदा बढेको रकम बराबर निश्चित प्रतिशतमा घुस रकम माग्ने गरेको पीडितहरुको गुनासो छ ।

गत फागुन ८ गते सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट इजलासमा उपस्थित बीमा सर्भेयर जगन्नाथ गौतमले बीमितलाई दावी भुक्तानी दिन बीमा समितिले गरेको फैसलाको विरुद्धमा बयान दिन खोजे । उनी त्यसरी उपस्थित हुनुको कारण थियो, बीमितलाई हानी नोक्सानी पुर्याई कम्पनीलाई फाइदा पुर्याउने आफ्नो निर्णयको बचाउ गर्नु । हो यसरी नै बीमा सर्भेयरहरुले स्वतन्त्रता र निष्पक्षतालाई तिजाञ्जली दिएर कुनै पक्षको बचाउमा उभिँदा बीमा सर्भेयरको निष्पक्षतामाथि प्रश्न चिन्ह उठ्न थालेको छ ।

बीमा कानुनले तोकेको आचार संहिता विपरित सगरमाथा इन्स्योरेन्स कम्पनीको पक्षबाट इजलासमा उपस्थित बीमा सर्भेयरमाथि नेपाल सर्भेयर एशोसिएशन र बीमा समिति दुवैले हालसम्म कारवाही गरेको सूचना बाहिर आएको छैन । बीमा ऐनमा कुनै पक्षलाई हानी नोक्साउने पुर्याउने कार्य गरेमा कारवाही गरी जरिवना भराउन सक्ने र सर्भेयरको लाईसेन्स नविकरण नगर्न सक्ने व्यवस्था छ ।

बीमा सर्भेयरहरुले स्वतन्त्र पूर्वक क्षति मूल्याङ्कन गर्नुको साटो उल्टै बीमक कम्पनीको तर्फबाट बीमितसँग मिलेर घुस सेटिङ गर्ने गरेको आरोप बीमितहरुले लगाउने गरेका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीमा कार्यरत सर्भेयर गौतमले पनि स्पष्ट रुपमा नभनेको तर लेनदेन गर्न सके क्षति मूल्याङ्कन बढाईदिनसक्ने कुरा आफ्नो हातमा रहेको आशय व्यक्त गरेको पीडितको भनाई छ ।

कुनै पनि कम्पनी विशेष नभई केही बीमा सर्भेयरहरुले भने बीमितसँग अतिरिक्त लाभको अपेक्षा गर्ने गर्दछन् । सर्भेयरलाई बीमा कम्पनीले नै क्षति मूल्याङ्कनको आधारमा पारिश्रमिक तोकिएको हुन्छ । बीमक कम्पनीले तोकिदिएको पारिश्रमिक भन्दा बाहेक अतिरिक्त रकमका लागि बीमा सर्भेयरहरुले क्षति मूल्याङ्कन प्रभावित बनाउने गरेको बीमा कम्पनीहरुले पनि गर्दै आएका छन् । बढि पारिश्रमिक पाउने भएकोले कम क्षतिलाई बढि मूल्याङ्कन गर्ने गरेको आरोप बीमा कम्पनीहरुको पनि छ । एक बीमा कम्पनीका उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘सर्भेयरहरुले बिचौलियाको काम गरेका कारण बीमा कम्पनीहरुले अप्ठेरो अवस्थाको सामना गर्नुपरिरहेको छ ।’

पछिल्लो समय बीमितको क्षति मूल्याङ्कन बढाउनको लागि घुस लिने प्रवृत्ति बढ्दै झाँगिदै जाँदा बीमा कम्पनीहरुको दावी भुक्तानी बढ्ने देखिएको छ । साथै सर्भेयरसँग घुस रकम बाँडफाँड गर्न पल्केका बीमा कम्पनीका उच्च पदस्थ कर्मचारीहरु मोटाउने र कम्पनी डुब्ने अवस्था हुनेतर्फ सबै सचेत हुनैपर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*