४६ अंकले घट्यो शेयरबजार, बीमा समूहको ह्वात्तै घट्दा २ अर्बमा खुम्चियो कारोबार
२२ चैत्र २०७८, मंगलवार १५:०८
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले मात्र घटेको नेप्से परिसूचक आज ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।
चरम आर्थिक संकटकाबीच नेपाली पूँजीबजार घट्दो क्रममा छ । बढ्दो शोधानान्तर घाटा र विप्रेषण घाटाका कारण शेयरबजारमा प्रभाव परेको देखिएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये होटल तथा पर्यटन समूह बाहेक आज सबै सूचक राताम्य भएका छन् । आज पनि बीमा कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएका छ । आज जीवन बीमा समूहको ४३२.२८ रुपैयाँ र निर्जिबन बीमा समूहको ३४५.०२ रुपैयाँले घटेको छ ।