उतारचढावकाबीच दोहोरो अंकले घट्यो नेप्से, बीमा समूहमा उच्च गिरावट आउँदा एक अर्बमा कारोबार सीमित
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार दोहोरो अंकले घटेको छ । पछिल्लो समय नेपालको पूँजीबजार घट्दो क्रममा छ ।
आज नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४७ विन्दुमा कायम भएको छ । देशको चुलिँदो शोधानान्तर घाटा र मुद्रा संचिती खस्किँदो अवस्थाले तरलता संकट निम्त्याएको कारण शेयरबजारमा प्रभाव परेको छ ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकले ल्याएको तरलता संकट समाधानका उपाय प्रभावकारी नभएका कारण पछिल्लो समय शेयरबजार ओरालोतर्फ लागेको हो ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५२६ रुपैयाँको कारोबार भएको छ । शेयरबजारमा केहीदिनयता शेयरको मात्रा र कारोबार रकम ह्वात्तै घट्ने क्रम रहेको छ ।
नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक बीमा कम्पनीहरुको शेयरमूल्य आज खस्किएको छ । निर्जिबन बीमा समूहको आज सर्वाधिक १९९.४६ रुपैयाँ र जीवन बीमा समूहको १२८.५३ रुपैयाँले घटेको छ ।