आठ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २५ अर्ब माथि, कुनले कति गरे ?

२२ चैत्र २०७८, मंगलवार ०६:००

काठमाडौं । फागुन महिनासम्म जीवन बीमा कम्पनीहरुले २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क मात्रै २५ अर्ब ९१ करोड संकलन गरेको हो ।तरलता अभावपछिको उत्पन्न चरम आर्थिक संकटका बीचमा पनि जीवन बीमा कम्पनीहरुले बीमा व्यवसायमा उल्लेख्य बृद्धि गरिरहेको बीमा समितिले प्रकाशन गरेको तथ्यांकले देखाएको छ ।

समितिले प्रकाशित गरेको तथ्यांकअनुसार आठ महिनाको अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । समिक्षा अवधिसम्ममा इन्स्योरेन्सले ४ अर्ब ३८ करोड ५२ लाख ३९ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

साथै दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा २ अर्ब ८४ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा व्यवसायलाई बढाउँदै तेस्रोमा सिटिजन लाइफ इन्स्योरेन्सले फागुन मसान्तसम्ममा १ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले पनि सो अवधिसम्ममा एक अर्ब ६९ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ । अन्य कम्पनीलाई पछ्याउँदै रिलायबल लाइफ इन्स्योरेन्सले पनि आठ महिनाको दौरानसम्ममा १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ ।

त्यस्तै, सन नेपाल लाइफले पनि चरम आर्थिक संकटकाबीचमा पनि आठ महिनासम्ममा १ अर्ब ६६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । साथै युनियन लाइफ इन्स्योरेन्सले पनि बीमा व्यवसायमा बृद्धि गर्दै सो अवधिसम्ममा १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा समितिले प्रकाशित गरेको वित्तीय विवरणअनुसार फागुन महिनासम्ममा एशियन लाइफले एक करोड २९ लाख, सूर्या लाइफले एक अर्ब २० करोड रुपैयाँ, ज्योति लाइफले एक अर्ब १२ करोड रुपैयाँ, मेट लाइफले एक अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, आइएमई लाइफले ८८ करोड ३३ लाख, प्राइम लाइफले ८६ करोड १७ लाख, रिलायन्स लाइफले ७४ करोड ६८ लाख, सानिमा लाइफले ७४ करोड एक लाख, राष्ट्रिय बीमा संस्थाले ७० करोड ५८ लाख, प्रभु लाइफले ६९ करोड ६६ लाख, महालक्ष्मी लाइफले ४७ करोड ७७ लाख र गुराँस लाइफले ४५ करोड ४१ लाख रुपैयाँ भन्दा माथि प्रथम बीमा शुल्क आम्दानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*