तीन दिने भ्रमणका लागि प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत चार मन्त्री छन् । त्यस्तै विभिन्न मन्त्रालयका सचिवहरु पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका छन् । उनी नेपाल एयरलायन्सको विमानमार्फत भारत भ्रमणमा गएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुगेका थिए ।
उनी भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्ने जनाइएको छ । भोलि (चैत १९ गते) ११ः१० मा हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता कार्यक्रम रहेको छ ।