मेगा बैंकले सार्वजनिक गर्यो २०७९ सालको इक्यालेण्डर, छात्राहरुलाई प्राथमिकता

१७ चैत्र २०७८, बिहीबार १२:४९

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ वर्ष २०७९ सालको लागि इक्यालेण्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको २०७९ सालको क्यालेण्डरमा आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप मेगा बैंकले ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत देशभरका प्रत्येक शाखाबाट २–२ जना छात्राहरुलाई आर्थिक सहयोगको व्यवस्था गरेको छ ।

शिक्षामा बालिकाहरुको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम ल्याएको थियो । सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरुलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यो छात्रवृत्तिले शाखा संचालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

यसका साथै, सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका छात्राहरुलाई पढाउने लगायतका सामाजिक कार्य गरेकै कारण मेगा बैंकले गत साता ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ समेत जितेकी थिइन् ।

यसपालिको क्यालेण्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरुको तस्वीर सार्वजनिक गरी उनीहरुलाई प्रोत्साहन गरिएको मेगा बैंककी सिइओ खुञ्जेलीले बताइन् । ‘विपन्न परिवारका यिनै छोरीहरुलाई हामीले भविष्यमा मेगा स्टारका रुपमा हेर्न चाहन्छौं, सोहीकारण उनीहरुलाई यसपालिको क्यालेण्डरमा प्राथमिकता दिएर प्रोत्साहन गरेका हौं’– उनले भनिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*