सबै नेपाली स्वास्थ्य बीमाको दायरामा आए स्वास्थ्योपचारमा सहजता हुन्छ: स्वास्थ्य मन्त्री

१७ चैत्र २०७८, बिहीबार १२:१५

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आए स्वास्थ्योपचारमा सहजता हुने बताएका छन् ।नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले स्वास्थ्य बीमाको दायरमा सबैलाई समेट्ज सकेमात्र वास्थ्योपचारमा सहजता हुने बताएका हुन् ।
साथै उनले कार्यक्रममा पत्रकारहरु स्वास्थ्योपचारको लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ बीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको पनि बताए ।
मन्त्री खतिवडाले श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भएपनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताए । उनले पत्रकारका हकहितका लागि उचित प्रश्ताव लिएर मन्त्रालयमा आउन पनि महासंघलाई आग्रह गरेका छन् ।
मन्त्री खतिवडाले भने, ‘सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसकेको छ । बीमाको दायरामा सबै नेपालीहरु आउने हो भने स्वास्थ्योपचार निकै सहज हुने हाम्रो आँकलन छ । त्यसैले स्वास्थ्य बीमा बोर्डमार्फत बीमा गरी पत्रकारहरुको स्वास्थ्योपचारको सन्दर्भमा स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ बीच समन्वय र सहकार्य गरेर अघि बढ्ने सवालमा हामी सबै सकारात्मक छौँ ।

त्यसैले उचित प्रश्ताव अघि सार्न पनि म आग्रह गर्दछु । अघिल्लो सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रश्तुत गर्दा श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी तिनीहरुको ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाउने र साउन १ गतेबाट नै पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई उपचार सुविधा परिचय पत्रको आधारमा देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषय उल्लेख थियो ।

तर यो आर्थिक वर्षसम्म यो विषय कार्यान्वयन हुन नसक्नुमा म चिन्तित छु । यो विषय म मेरै कार्यकाल रहँदा नै शुरु होस् भन्ने चाहन्छु त्यसैले यसको बारेमा काम अघि बढाउन निर्देशन समेत दिइसकेको छु । नेपाल पत्रकार महासंघले तत्काल यो काम अघि बढाएर कार्यान्वयनमा लैजान सञ्चार मन्त्रालयलाई ताकेता गरेमा र अर्थमन्त्रालयलाई भनेमा मेरो मन्त्रालयबाट म तत्काल यसको कार्यान्वयनमा लैजाने कुरामा प्रतिवद्धता जनाउन चाहन्छु ।’

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्योपचारका लागि अस्पताल छुट्टैअस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकारको सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने बताए । उनले बजेट भाषणमा निःशुःल्क उपचारको कुरा आए पनि बजेट नछुट्याउँदा अझै पत्रकारले निःशुल्क स्वास्थ्य सेवा नपाएको गुनासो गरे ।

उनले भने, ‘हामी क्रमशः काम गर्दै जाने हो भने लक्ष्यमा पुग्छौँ । हामीले जस्तै आर्मी, पुलिस, निजामति कर्मचारी सबैको लागि अस्पताल बनाइएको छ । यसरी पत्रकारको लागि पनि निःशुल्क उपचार पाउने अस्पताल बनाउने हो भने हामी सरकारले भनेको निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्छौँ । बजेट भाषणमा त्यो कुरा आयो पनि तर नीति बन्यो तर रकम नछुट्याएको कारणले त्यो सेवा सुविधा पाउन सकेका छैनौँ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*