सुदुर पश्चिमको भाग्य निर्माता पश्चिमसेती जलविद्युत आयोजना अन्योलमा, सुदूरका एक लाख पत्र प्रधानमन्त्रीलाई बुझाउदै ‘बोलन्या थली’
काठमाडौं । पश्चिम सेतीजलविद्युत निर्माणका लागि निरन्तर अभियान चलाउदैं आएको बोलन्या थलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउन सुदुर बासीका १ लाख चिठी र २२ डोका सहित काठमाडौंको माईतीघर मण्डला प्रदर्शन गरेको छ । ३ दिन मण्डलामा प्रदर्शन गरेर प्रधानमन्त्रीलाई डोकामा १ लाख सुदुर बासीका पत्र चैत १६ गते बुझाउने कार्यक्रम रहेको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए ।
आज दबाब स्वरुप आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौँलारु ? रिभर्स माइग्रेसनको व्यवस्थापन गरौँ, आश्वासन अति भो, धैर्य गर्ने कति हो ?, हिजो आशा म¥यो, आज जवानी मर्दै छ, भोलि सपना मर्ने छ लगायत नारासहित बोलन्या थलीले प्रदर्शन गरेको छ । यसअघि करिब ३ वर्ष अगाडि पनि कचौरा लिएर काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो ।
प्रदेशका ८८ वटै स्थानीय तहबाट जनताका सपनाका पत्र सङ्कलन गरेर काठमाडौँ पुगेका र तीन दिन माइतीघर मण्डलामा हाम्रा सपनामाथिका घात राजधानी सुन्ने गरी कराएर प्रधानमन्त्रीलाई डोकामा एक लाख पत्र बुझाउने कार्यक्रम रहेको जोशीले बताए ।
सात सय ५० मेगावाट क्षमताको जलासययुक्त पश्चिम सेती आयोजनाको चार दशकको अवधिमा फ्रान्सेली कम्पनी सोग्रेह, अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक) र चीनको थ्री गर्जेज जोडिए तर आयोजना निर्माण कार्य अघि बढ्न सकेको छैन । पश्चिम सेती आयोजनाको २०३९ सालबाट सुरु भएको थियो । त्यतिबेला नेपाल सरकारले फ्रान्सेली कम्पनी सोग्रेहलाई अध्ययनको अनुमति दिएको थियो । कम्पनीले बैतडीको ढुङ्गाडबाट आठ किलोमिटरमाथि बाँधरहित आयोजना निर्माण गरेर ३७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावनासहितको अध्ययन गरेको थियो । त्यसपछि सरकारले सोग्रेहलाई म्याद थप गरी थप सम्भाव्यता अध्ययनको अनुमति दियो । कम्पनीले ढुङ्गाडमा बाँध निर्माण गरी तीन सय ६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन दियो तर उसलाई सरकारले निर्माणको अनुमति दिएन ।
सोग्रेहले अनुमति नपाएपछि २०४६ सालबाट अस्ट्रेलियाको स्मेकलाई अध्ययनको अनुमति दिइयो । स्मेकले झन्डै १८ वर्षसम्म सो आयोजनालाई अल्झ्यायो । स्मेकले २०४९ सालमा सरकारलाई अध्ययन प्रतिवेदन बुझायो । स्मेकको सम्भाव्यता अध्ययन प्रतिवेदनमा एक सय ९५ मिटर अग्लो बाँध निर्माण गरी सात सय ५० मेगा विद्युत् उत्पादन गर्न सकिने उल्लेख थियो । प्रतिवेदनअनुसार, छ दशमलव सात किलोमिटर सुरुङ बनाउनुपर्ने र २५ किलोमिटर लामो ताल बन्ने अनुमान गरिएको थियो । त्यति लामो ताल बन्दा बैतडीको ढुङ्गाड, डडेलधुराको नवदुर्गा गाउँपालिकाका केही वडा, डोटीको आदर्श र थलारा गाउँपालिका तथा बझाङको केदारस्यु गाउँपालिकाका करिब १२ हजार परिवार विस्थापित हुने अनुमान गरिएको थियो ।
पश्चिम सेती नदीको मुहान बझाङ जिल्लाको सैपाल हिमाल हो । त्यहाँबाट निस्किएको पश्चिम सेती बझाङ, बैतडी, डडेलधुरा र डोटी हुँदै कर्णालीमा मिसिन्छ । पश्चिम सेती आयोजनाबारे सन् १९९४ (२०५० साल) मा स्मेक र विद्युत् विकास केन्द्रबीच समझदारी भयो । सो समझदारीअन्तर्गत निर्माण–स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण मोडलमा पाँच वर्षभित्र आयोजना निर्माण गर्ने भनियो । सो आयोजनाबाट उत्पादन हुने विद्युत् भारतलाई बेच्ने र उत्पादन सुरु भएको ३० वर्षपछि आयोजना नेपाललाई हस्तान्तरण गर्ने पनि भनिएको थियो तर करिब १८ वर्ष अर्थात् २०६८ सालसम्म पनि स्मेकले निर्माण कार्य अघि बढाउन सकेन ।
१८ वर्षसम्म पश्चिम सेती आयोजनामा संलग्न भएर पनि स्मेकले किन कार्यान्वयनमा लैजान सकेन । २०६८ सालमा स्मेक फिर्ता गएपछि नेपाल सरकारले एक वर्षपछि २०६९ सालमा चिनियाँ कम्पनी चाइना थ्री गर्जेजलाई निर्माण अनुमति दियो । निर्माण अनुमतिअनुसार यो आयोजनाको लागत अनुमान एक खर्ब ८० अर्ब रुपैयाँ थियो । सरकारसँग भएको सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २०७० सालबाट सुरु गरेर २०७७ सालसम्म पूरा गर्नुपर्ने थियो । थ्री गर्जेजले सो आयोजनाका लागि वैदेशिक लगानी भित्र्याउन र नेपालमा नयाँ कम्पनी दर्ता गर्न लगानी बोर्डमा निवेदन दियो । सहमतिअनुसार कम्पनीले एक खर्ब ५० अर्ब रुपियाँ वैदेशिक ऋण लगानी भित्र्याउने, थ्री गर्जेजको सहायक कम्पनी सीडब्ल्युई इन्भेष्टभेन्ट कर्पोरेसनको ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २५ प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको थियो । त्यस्तै, कुल लागतको १० प्रतिशत सेयर बैतडी, बझाङ, डडेल्धुरा र डोटीका बासिन्दाका लागि वितरण गर्ने पनि सैद्धान्तिक सहमति भएको थियो ।
सरकारसँग सहमति भएको छ वर्षपछि २०७५ सालमा यो विषयलाई अन्तिम रूप दिने भनेर थ्री गर्जेजका अध्यक्षको नेतृत्वमा एक टोली नेपाल आइपुग्यो तर सहमति हुन सकेन । २०७५ सालको भदौमा चाइना थ्री गर्जेज पनि यो आयोजनाबाट अलग भयो । यससँगै साढे तीन दशकदेखि पश्चिम सेती आयोजनाका लागि विदेशी अनुदान, लगानी र निर्माण कम्पनीहरूको प्रसङ्गको एक अध्याय समाप्त भयो ।
सुदूरपश्चिम प्रदेशको भाग्य निर्माता मानिएको ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण लगायत पूर्वाधार र आर्थिक सामाजिक विकासका संरचना निर्माणका साथै सामाजिक सुधारको अभियान चलाइरहेको ‘बोलन्या थली’ माग गर्दै दिपायलकोे सेती पुलमा दिउँसै मैनबत्ती बालेर र धनगढीले दिउँसै टुकी बालेर सरकारको ध्यान आकृष्ट गरिरहेको थियो ।
यस अघि डोटीको दिपायलस्थित सेती पुलमा ७ सय ५० मैनबत्ती बालेर आगामी बजेटमा पश्चिम सेती जलविद्युत आयोजनालाई निर्माणको चरणमा पुर्याउने कार्यक्रम ल्याउन दबाब सदन दिउँसै मैनवत्ती बालिएको बोलन्या थली धनगढीका संयोजक जोशीले बताए ।
निर्माणको निर्णय लिनु पहिले परियोजना स्थलको अवलोकनको लागि एशियाली विकास बैंकको उच्चस्तरीय टोली डोटीमा रहेको बेलामा जनयुद्धमा रहेको तात्कालीन नेकपा माओवादीका कार्यकर्ताले यसका सूचना कार्यालय लगायतका स्थानीय कार्यालयहरुमा आक्रमण गरी ध्वस्त बनाएपछि सुरक्षाको प्रत्याभूति नभएको र लगानी मैत्री वातावरण तयार नभएको भन्दै एशियाली विकास बैंकले आयोजनाबाट हात झिक्ने गरेको थियो ।
भिडियो ः