२० प्रतिशत लाभांश पारित गर्न नयाँ सारथी लघुवित्तको साधारण सभा वैशाख १० गते, बुकक्लोज कहिले ?
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले तह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत १२ गते बसेको संचालक समितिको बैठकले सभा २०७९ साल वैशाख १० गते बस्ने निर्णय गरेको हो ।
संस्थाले १३औं सभा प्रधान कार्यालय, धुलिखेख काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे बस्ने गरी डोकेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै सोही सभाले सर्वसाधारणको लागि छुट्याईएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिइ थप सार्वजनिक निष्काशन एफपीओ निष्काशन गर्ने सम्बन्धमा संचालक समितिलाई प्रत्यायोजन गर्ने विषयलाई अनुमोदन गर्नेछ । साथै एफपीओ निष्काशन पश्चात् पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, अन्य कुनै संघ।संस्था सँग गाभ्ने।गाभिने वा प्राप्ति गर्ने विषयलाई अनुमोदन गर्नेछ । साथै आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र साविक सारथी लघुवित्त, सत्यवती लघुवित्त र नयाँ नेपाल लघुवित्त संस्था एक आपसमा गाभिई एकिकृत कारोबार हुनु अघिसम्मको वित्तीय विवरण सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब (बुकक्लोज) चैत २३ गतेदेखि २०७९ साल वैशाख १० गतेसम्म तोकेको छ । यसअनुसार चैत २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र सो शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।