नेष्डो समृद्ध लघुवित्तको आइपीओ शेयरधनीको डिम्याट खातामा, कारोबार कहिले होला त ?

१२ चैत्र २०७८, शनिबार १५:४१

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर शेयरधनीहरुको डिम्याट खातामा आएको हो ।

कम्पनीको शेयर एनइएसडिओ सिम्बोलबाट शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो । हाल कम्पनीको उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । संस्थाको आईपीओ आगामी साताबाट दोश्रो बजारमा कारोबार सूरू गर्ने तयारी गरिएको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर दोश्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २५ लाख २७ हजार १ सय १ जनाले २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, ४ हजार १ सय ४६ जनाको आवेदन रद्द थियो । २५ लाख २२ हजार ९ सय ५५ जना योग्य थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेको हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् । सेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

नेष्डो लघुवित्तले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिशेयर न्यूनतम २६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य तोक्ने भएको कारण सो रेञ्ज पाउने देखिएको हो । नेष्डो लघुवित्तको वास्तविक नेटवर्थ २६० रुपैयाँ ८४ पैसा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*