नेपाल, नेशनल, शिखर र नेको इन्स्योरेन्सलाई चुक्ता पुँजि वृद्धिले फरक परेन, नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको अवस्था कस्तो ?

११ चैत्र २०७८, शुक्रबार १८:००

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको छ । चैत १० गते बसेको समितिको बोर्ड बैठकले जीवन तथा निर्जीवन व्यवसाय गर्ने कम्पनीहरुलाई हालको चुक्ता पुँजी बढाउन निर्देशन दिएको हो ।समितिको उक्त निर्देशन बमोजिम सबै बीमा कम्पनीहरुले क्यापिटल प्लान बनाएर एक महिना र १ बर्षको अवधिमा पुँजी थप गरिसक्नुपर्ने छ ।

समितिले जीवन कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन तोकेको हो । दुबै किसिमका व्यवसाय गर्ने कम्पनीलाई एक वर्षभित्र पुँजी पुर्याउन समितिको निर्देशन छ ।

समितिको निर्देशनसँगै निर्जीवन बीमा कम्पनीलाई एक वर्षभित्रै कूल २४ अर्ब रुपैयाँ बढी पुँजी थप्न दवाव परेको छ । तोकिएको पुँजीअनुसार १८ वटा कम्पनीहरुको न्यूनतम पुँजी कूल ४५ अर्ब रुपैयाँ हुनुपर्छ । उनीहरुसँग हाल २० अर्ब ७५ करोड रुपैयाँ (कूल) मात्रै पुँजी छ । जुन गत वर्षको प्रस्तावित बोनस र हकप्रद सेयर समेत गरिको पुँजी हो ।

 

समितिको निर्देशन अनुसार अन्य कम्पनीको तुलनामा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी पुँजी थप्नुपर्ने देखिन्छ । हाल २६ करोड ६६ लाख रुपैयाँ पुँजी रहेको कम्पनीले एक वर्षभित्रै ८३७.७३ प्रतिशत बढी पुँजी बढाउनुपर्ने छ । जुन रकमको आधारमा २ अर्ब २३ करोड रुपैयाँ बढी हो ।

त्यस्तै, ४ वटा कम्पनीले शतप्रतिशतभन्दा बढीले पुँजी वृद्धि गर्नुपर्ने छ । जसमा यूनाईटेडले ३४३.१७ प्रतिशत, हिमालयन जनरलले ११३.०४, प्रुडेन्सियलले ११०.७९ र प्रिमियर इन्स्योरेन्सले १०३.६५ प्रतिशतले पुँजी बढाउनुपर्ने देखिएको छ ।

समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन शिखर इन्स्योरेन्सले भने सबैभन्दा कम अर्थात ९.३६ प्रतिशतले मात्रै पुँजी बढाए हुन्छ । हाल हकप्रद जारी गरिरहेको कम्पनीको चुक्ता पुँजी हकप्रदपछि २ अर्ब २८ करोड ६० लाख रुपैयाँ पुग्ने छ । र, तोकिएको साढे २ अब पुँजी पुर्याउन कम्पनीलाई २१ करोड ४० लाख रुपैयाँ मात्रै आवश्यक छ ।

१८ वटा कम्पनीमा १३ वटा कम्पनीले बोनस तथा हकप्रद सेयर प्रस्ताव गरिसकेका छन् । जसमा शिखर र आईएमई जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्दै छन् भने बाँकीले बोनस सेयर प्रस्ताव गरेका छन् । आईएमई जनरलले भने बोनस सेयर पनि प्रस्ताव गरिसकेको छ । बोनस र हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ ।राष्ट्रिय बीमा कम्पनीसहित ५ वटा कम्पनीले भने हालसम्म लाभांश तथा हकप्रद केही पनि प्रस्ताव गरेका छैनन्।

समितिले कायम गर्नु भनेको चुक्तापूँजीभन्दा बढी नेपाल लाइफको छ । यो कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ कायम छ । तर, यो बीमा कम्पनीबाहेक अन्य कम्पनीको हाल कायम चुक्तापुँजीमा धेरै थप गर्नुपर्ने देखिन्छ ।

कम्पनीले दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समितिले कायम गर्नु भनेको चुक्तापूँजीको नजिक–नजिक नेशनल लाइफ इन्स्योरेन्स मात्र पुगेको छ । यो कम्पनीको दोस्रो त्रैमाससम्मको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीमा २३ प्रतिशत मात्र पूँजी वृद्धि गरे पुग्ने देखिन्छ ।

त्यस्तै पाँच अर्ब रुपैयाँ पुँजी कायम गर्न ९६ करोड ४८ लाख ४२ हजार, एलआइसी नेपालले २ अर्ब ३४ करोड ६८ लाख, सूर्या लाइफले २ अर्ब ४४ करोड ९७ लाख १८ हजार, एशियन लाइफले २ अर्ब ४८ करोड ६५ लाख ४८ हजार रुपैयाँ, प्राइम लाइफले २ अर्ब २२ करोड ३ लाख ८४ हजार रुपैयाँ र गुराँस लाइफले २ अर्ब ९१ करोड ५७ लाख ५० हजार रुपैयाँ थप गर्नुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*