जीवन विकास लघुवित्त र एनटिसीको शेयरमूल्य समायोजन, आइतबार कसको कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल दुरसंचार कम्पनी (एनटिसी) र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।
एनटिसीले २० प्रतिशत बोनस शेयर र जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
जीवन विकास लघुवित्तको आज कारोबार बन्द हुनुभन्दा अघि ५१ सय रुपैयाँका आधारमा र एनटिसीको १४६५ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य क्रमशः ३ हजार र १२२० रुपैयाँ कायम गरेको छ ।
सोही मूल्यको आधारमा नै आइतबार यी दुई कम्पनीको शेयर उक्त कायम मूल्यबाट कारोबार सुरु हुनेछ ।
जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ७३ प्रतिशत लाभांश पारित गर्न चैत २५ गते केन्द्रीय कार्यालय इटहरी–२ मोरङमा साधारण सभा आह्वान गरेको छ ।
त्यस्तै, एनटिसीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश पारित गर्न चैत २४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा साधारण सभा आह्वान गरेको छ ।