बीमा कम्पनीहरुको चुक्ता पुँजि दोब्बर बृद्धि गरिँदै, हकप्रद जारी गर्न नपाउने
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुको पुँजि दोब्बर भन्दा बढिले बृद्धि गर्ने गरी छलफल अघि बढेको छ । बीमा समितिले गठन गरेको पुँजि बृद्धि सम्बन्धी कार्यदलले गरेको छलफलमा हाल कायम चुक्ता पुँजिलाई दोब्बर भन्दा बढिले बृद्धि गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।
बीमा समितिले गठन गरेको कार्यदलले निकालेको निष्कर्ष अनुसार जीवन बीमा कम्पनीको चुक्ता पुँजि पाँच अर्ब पुर्याइने भने निर्जिवन बीमा कम्पनीहरुको चुक्ता पुँजि साढे दुई अर्ब पुर्याइने प्रस्ताव गरिएको छ । त्यस्तै पुनर्बीमा कम्पनीको चुक्ता पुँजि २० अर्ब हुनुपर्ने प्रस्तावमाथि लगभग सहमति जुटेको छ ।
पुँजि बृद्धिका लागि बीमा कम्पनीहरुलाई एक महिना अवधीभित्र बीमा कम्पनीहरुलाई व्यापारिक योजना बनाउन निर्देशन दिने र व्यापारिक योजनाको सम्बन्धमा अध्ययन गरेर मात्रै न्यूनतम् पुँजि कति बनाउने भन्ने सम्बन्धमा निर्णय हुने जनाइएको छ । बीमा समिति स्रोतका अनुसार हाल अध्ययन मात्रै गरिएको हो, अध्ययनको निष्कर्ष तथा कम्पनीहरुको क्षमताको आधारमा पुँजि बृद्धि सम्बन्धी निर्णय लिने तयारी बीमा समितिको छ । बीमा कम्पनीहरुको जोखिम धारण क्षमता बृद्धिका लागि पुँजि बृद्धि गर्न लागिएको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल बीमा कम्पनीहरुको व्यवसायको आकारमा आएको परिवर्तन अनुसार कम्पनीहरुको चुक्ता पुँजि बृद्धि गर्ने पक्षमा छन् । पुँजि बृद्धिसँगै कम्पनीहरुको दायित्व वहन क्षमता बृद्धि भई पुनर्बीमा खर्च कटौति हुनेछ ।
बीमा समिति सम्बद्ध स्रोतका अनुसार शेयर बजारमा चलखेल हुन नदिन हकप्रद भने तत्कालको लागि जारी गर्न पाउने छैनन् । शेयर बजारमा कालोधन प्रवेश हुने सम्भावना तथा माफियाहरुले चलखेल गर्ने सम्भावनाका कारण सकेसम्म हकप्रद जारी गर्न नदिने पक्षमा कार्यदलले काम गरेको जनाइएको छ । कार्यदलले बैंक तथा वित्तिय संस्थाले सर्वसाधारणलाई आईपिओ जारी गर्दा १०० रुपैयाँमै जारी गर्नुपर्ने नीतिलाई अंगिकार गर्ने भएको छ । बीमा समितिकले यसअघि तीन वटा कम्पनीलाई प्रिमियम मूल्यमा आईपिओ जारी गर्न अनुमति दिएको भएपनि नेपाल धितोपत्र बोर्डमा सरकारको आर्थिक नीति विपरित प्रिमियम मूल्यमा आईपिओ जारी गर्न लागेकोले रोकिएको छ ।