जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (चैत १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले भोलि (चैत १० गते) सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत २५ गते बिहान १०ः३० बजे कम्पनीको केन्द्रिय कार्यालय कटहरी २ मोरङगमा बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।
साथै, उक्त सभाले गत आर्थिक वर्ष वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालन निर्वाचन गर्ने, संस्थाको अधिकृत पूँजी १ अर्बबाट वृद्धि गरी २ अर्ब पुराउने र बोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (क), ६ (ख) र ६ (ग) मा संशोधन गर्ने प्रस्ताव समेत कार्य सूचिमा समावेश गरीएको छ ।