लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले सभा चैत ३० गते बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको शून्य दशमलव ५० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै सोही सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सोही आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब (बुकक्लोज) चैत १५ गतेदेखि चैत ३० गतेसम्म गर्ने निर्णय गरेको छ । यसअनुसार चैत १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित प्रस्तावित लाभांश पाउनेछन् ।