जब २९ हजार फिटमाथि उडेको जहाज एक्कासी घोप्टिन थाल्यो.., १३२ जनाको मृत्युसँगै अर्बौको भार बीमा कम्पनीमाथि

८ चैत्र २०७८, मंगलवार ०८:०३

काठमाडौं । सामान्य जस्तै चाईना इस्टर्न एयरको बोईङ ७३७–८०० जहाज कुन्मिङबाट गोन्झाओको रुटमा उडिरहेको थियो । कुन्मिङबाट सामान्य टेकअफ गरेको जहाज २९१०० फिटमाथिको आकाशमा गन्तव्यतर्फ अघि बढिरहेको थियो । उडान भरेको एक घण्टा चार मिनेटपछि जहाज घोप्टिन थाल्दछ । यसअघिको बोईङ म्याक्सकै नियती दोहोर्याउँदै अन्ततः बोईङ म्याक्स गोन्झाओ विमानस्थल पुग्नु केही अघिको जंगलमा बजारिन्छ ।

फ्लाईट राडारका अनुसार दुर्घटनाग्रस्त जहाज ३० हजार फिट प्रतिघण्टाको गतिमा तलतिर झरिरहेको देखिएको छ । नौ हजार फिट तल झरिसकेपछि पाईलटले नियन्त्रणमा लिने प्रयास गरेको जहाज पुनः घोप्टो पर्दै तलतिर झरेपछि अन्ततः १३२ जना मानिससहित सदाको लागि धर्तीमा विलय गराएको छ । २९ हजार फिटमाथि उडिरहेको जहाजको इन्जिनमै समस्या आएको भएपनि करिब १५ मिनेट आकाशमै तैरिन सक्ने थियो । तर, सन् २०१८ को इण्डोनेसिया र २०१९ मा अफ्रिकाकै नियति भोगेको जहाज अन्ततः दुर्घटनाग्रस्त बन्न पुगेको हो ।


सोमबार चीनको व्यापारिक शहर कुन्मिङबाट गोन्झाओको लागि उडेको चाईना इस्टर्न एयरको बोईङ ७३७–८०० जहाज दुर्घटनाग्रस्त हुँदा १३२ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार हाल घटनाको उद्धार कार्य जारी रहेको छ । अधिकांशको शव क्षत विक्षत भएकोले पहिचानको कार्य भइरहेको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले घट्नाको निष्पक्ष छानविन गर्न आदेश जारी गरेका छन् ।

कुन्मिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह १३ः१० बजे उडेको बी ९७९१ को जहाज स्थानीय समय अनुसार अपरान्ह १४ः२० बजेपछि एकाएक घोप्टिदै तल झरेर दुर्घटना भएको फ्लाईट राडारले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

source: flightradar24

१२३ जना यात्रु तथा चालक दलका सदस्यसहित १३२ जना सवार चाईना इष्टर्न एयरको जहाज दुर्घटनामा सबैको मृत्यु भएको छ । अपरान्ह १५ः०५ मा गोन्झाओ विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज युन्जिक नदि नजिकै पर्ने मोलाङ जंगलमा खसेको थियो । जहाजको नाक जमिनमा धसिएर भएको दुर्घटना लगत्तै ठूलो धुवाको मुस्लो निस्किएको थियो ।

हिजो भएको चाईना इष्टर्न एयरको बोईङ ७३७ जहाज दुर्घटनामा बीमा क्षेत्रले करिब १० अर्ब रुपैयाँ बीमा दावी भुक्तानी गर्नुपर्ने छ । बोईङ ७३७ जहाजकै मूल्य करिब आठ अर्ब हाराहारी छ । यात्रु चालक दलका सदस्यहरुको बीमा तथा क्षति भएको जंगल लगायत पुननिर्माणमा बीमा कम्पनीहरुले सो रकम व्यहोर्नु पर्ने देखिएको हो । यससँगै बोईङ ७३७ जहाजको भविष्यमाथि गम्भिर प्रश्न चिन्ह उठेको छ ।

हिजोको जहाज दुर्घटनासँगै जहाज निर्माता अमेरिकी कम्पनी बोईङको शेयरमा उल्लेख्य गिरावट आउने विश्वास गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*