ग्लोबल आइएमई बैंकको नयाँ शाखा बागलुङको बलेवा
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले बागलुङ जिल्लाको बलेवाममा आफ्नो २८९ औं शाखा कार्यालयको शुभारम्भ गरेको हो ।
साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोउन्नती गरी शाखाको रुपमा परिमार्जित गरेको हो । सोमबार बागलुङको बागलुङ नगरपालिका १४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका हुन । यस्तै, एटीएम काउण्टरको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गरेका हुन् ।
यसका साथै, बैंकले मधेश प्रदेकको पर्सा जिल्ला, वीरगजं महानगरपालिका बडा नं. १५, बाइपास रोडमा पनि आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
२०६३ सालमा स्थापना भएको यस बैंकले २०७६ सालमा जनता बैंकसँग गाभिएपछि आफ्नो सेवाको दायरालाई झनै फराकिलो बनाउँदै गइरहेको छ । बैंकले देशैभर २८७ शाखा कार्यालय, ४८ एक्सटेन्सन काउन्टर तथा २७४ शाखारहित बैकिङ्ग सेवा र २५४ एटीएममार्फत् आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा दिदै आइरहेको छ ।