अर्थमन्त्री शर्मासँग प्रधानमन्त्री देउवा असन्तुष्ट ! अर्थ मन्त्रालयभन्दा माथि छुट्टै संयन्त्र बनाउने तयारी

७ चैत्र २०७८, सोमबार ०७:१८

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा अर्थमन्त्री जनार्दन शर्र्माको काम कारवाहीप्रति असन्तुष्ट देखिएका छन् । देशको बिग्रदो अर्थतन्त्रमा सुधार नभएपछि प्रम देउवा आफैले अगाडी सरेर अर्थतन्त्रमाथि हस्तक्षेप सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय भन्दा माथि छुट्टै संयन्त्र खडा गरेर नियमन गर्ने योजना अघि सारेका छन् ।

प्रधानमन्त्री देउवाले हिजो बालुवाटारमा उद्योगी व्यापारीहरुलाई भेला पारेर छलफल मात्रै गरेनन्, बिग्रदो अर्थव्यवस्था सुधार गर्न लिखित तथा मौखिक सुझाव समेत मागे । अर्थमन्त्रालयको अनुपस्थितिमा भएको सो बैठकपछि अर्थमन्त्री र प्रम देउवाबीच सम्बन्धी बिग्रिएको रुपमा चर्चा गर्न सुरु गरिएको छ । पछिल्लो एक महिनामा प्रम देउवा आफैले नियामक निकायका प्रमुखहरु तथा उद्योगी व्यवसायीहरुलाई भेटेर छलफल गरिसकेका छन् । हिजोको बैठकपछि प्रम देउवा र अर्थमन्त्री शर्माबीच मनमुनाव सुमधुर सम्बन्ध नरहेको सन्देश प्रवाह भएको छ ।

पछिल्लो पटक हिजो प्रधानमन्त्री देउवाले उद्योगी व्यवसायीहरुसँग अर्थतन्त्रका समस्या सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा छलफल गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रम देउवाले अर्थमन्त्रीले नतिजामुखी काम गर्न नसकेको गुनासो गरेका थिए । प्रम देउवाले अर्थतन्त्रमा उत्पन्न समस्या समाधान गर्न सरकार र निजि क्षेत्र सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउन प्रस्ताव गरेका छन् । जुन अर्थमन्त्रालयभन्दा माथि राख्ने योजनामा प्रधानमन्त्री देउवा छन् ।

देशको अर्थतन्त्र निरन्तर बिग्रदै जाँदा समेत अर्थमन्त्री जनार्दन शर्माले सुधार गर्न नसकेको निष्कर्ष निकालेको बालुवाटारले हिजो व्यवसायीहरुसँग समस्या समाधानको लागि मौखिक तथा लिखित सुझाव संकलन गरेको छ । बालुवाटारको उक्त कदमले अर्थमन्त्रालयको चेन अफ कमाण्ड भत्काउन सहयोग गरेको छ ।

उता, कांग्रेसका महामन्त्री गगन थापाले उद्योगी व्यवसायीहरुसँग छुट्टै छलफल गरेर अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान गर्ने उपाय खोजि गरिरहेका छन् । उनले गत साता नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुसँग छलफल गरिसकेका छन् भने थप छलफलको तयारी भइरहेको छ । स्रोतका अनुसार थापालाई प्रम देउवाले निर्देशन दिएपछि छलफल चलाएका हुन् । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न बालुवाटार अगल बाटो हिड्न थालेपछि अर्थमन्त्रालय सशंकित बन्न पुगेको छ ।

उता, प्रधानमन्त्री पत्नी आरजु देउवा माफियासँग सेटिङ गरेर अर्थमन्त्री जनार्दन शर्मालाई अप्ठेरो पार्ने गरेकाले पनि अर्थमन्त्री शर्माले नतिजामुखी काम गर्न नसकेको चर्चा माओवादी वृत्तमा चलिरहेको छ । सेबोनमा गरिएको नियुक्त, राष्ट्रिय बीमा कम्पनीमा रोकिएको नियुक्ती तथा बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई छ अर्बको व्यवासाय सुनिश्चित गर्ने जस्ता कार्यमा आरजुको हस्तक्षेप गरेकी थिईन् । अर्थमाथि बालुवाटारले हस्तक्षेप गर्ने बैधानिक मार्ग बनाउन खोजेपछि सत्ता गठबन्धनका बीचमै विवाद उत्पन्न हुनसक्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*