मेडिकल लाईनबाट बीमा अभिकर्ताः बीमा व्यवसायपछि फेरियो स्वास्थ्यकर्मी रीता पाण्डेयको जीवन

४ चैत्र २०७८, शुक्रबार १८:०५

पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९ दमकडामा २०३७ साल माघ १४ गतेका दिन बुबा यमप्रसाद पाण्डेय र आमा चेतकुमारी पाण्डेयको चौथो सन्तानका रूपमा जन्मिएकी रीता पाण्डेय मानव सेवाको रुपमा बीमा सेवामा आज रमाइरहेकी छिन् ।

जीवनको गन्तव्य पछ्याउने क्रममा अनेकन आरोह अवरोध पार गर्दै अघि बढेकी पाण्डेय अहिले बीमा व्यवसायमा रमाउँदै अघि बढिरहेकी छन् । बीमा व्यवसायमा बीमित, आफू र देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्नेबारे बहु आयामिक फाइदा पुगेपछि जीवन बीमा पेशामा दृढ भएर अघि बढेकी छिन् ।

रीता पाण्डेयकी बुवा मदनपोखरा गाविसको अध्यक्ष भएर मदनपोखरालाई नमुना गाउँका रूपमा विकास गर्न सकेको र यस क्रममा बाबाले गरेका मेहनत र समाजसेवाबाट उत्प्रेरित भै परिवारको बिग्रेको आर्थिक अवस्था सुधारका लागि आयआर्जनका साथै मानव सेवातिर अग्रसर भइन् । स्थानीय दमकडा माविबाट २०५४ सालमा एसएलसी उतीर्ण गरी त्यहींको माण्डब्य बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण–पत्र तहको शिक्षा प्राप्त गरिसकेपछि उनले २०५८ सालमा ल्याब असिस्टेण्ट अध्ययन पूरा गरि तत्पश्चात २०६० सालदेखि २०६३ सालसम्म हालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याब असिस्टेण्टको रुपमा सर्वसाधारणको सेवामा बिताईन् । त्यस्तै, तानसेन, प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याब असिस्टेण्टको रूपमा २०६३ देखि २०६७ सम्म कार्य गरिन् । जागिरबाट भविष्य त्यती सुरक्षित नदेखे पछि २०७१ सालमा आफ्नै एकल लगानीमा ल्याब सुबिधासहित प्रमास मेडिकल हल स्थापना गरी ब्यवसाय सुरु गरी हाल स्टाफ राखी आफ्नै घरमा निरन्तर सञ्चालन गरिरहेकी छन् ।


रीता पाण्डेय भन्छिन्, ‘मलाई बिरामीको सेवा गरी जीवन बचाउनु सबैभन्दा उत्तम पेशा हो जस्तो लागेर मेडिकल क्षेत्रमा लागेकी हुँ । तर बीमाको क्षेत्रमा काम गर्न थालेपछि मेडिकलले मानिसलाई बचाउन सहयोग गर्छ । अन्ततः हरेक मानिस ढिलो चाडो मर्नै पर्छ । यसरी मानिस मृत्यु हुदा एउटा घरको आर्थिक स्रोत पनि मरिरहेको पाए ।

जीवन बीमा सर्वोत्तम बचत सङ्गै आर्थिक सुरक्षा हो भनेर थोरै भएनी बुझेकी मैले अकाल उमेरमा कुनै घरको अभिभावकको मृत्यु हुँदा परिवारको आर्थिक सुरक्षाको प्रश्नले मलाई बेला–बेला झक्झाकाई रहन्थ्यो । जीवन बीमा गरेको मानिस बीमा अवधिभर बाँचिरह्यो भने अन्तिममा बीमाङ्क रकम बोनससहित रकम भुक्तानी प्राप्त गर्दछ । प्राण घातक रोग लागेमा उपचार खर्च उपलब्ध गराउँदछ ।

स्थायी पूर्ण अपाङ्गता भएमा बीमाङ्क रकमका साथै मासिक आय सुबिधामार्फत आर्थिक सहयोग गर्छ । मानिस मरिहाल्यो भने अरू मानिसहरू १२ दिनसम्म मात्र केही चामल फलफुल लिएर जान्छन् । बीमा १५ औ दिनपछि बोनससहितको बीमाङ्क रकम, क्रिया खर्च लगायतको आर्थिक प्याकेज लिएर जान्छ । यसले परिवारलाई परेको चोटका बेला आर्थिक सहयोग गरेर ठूलो गुन लगाउँछ । त्यसैले मेडिकलभन्दा पनि बीमाले गर्ने सेवा अझ बढी मानविय सेवा हो भन्ने लाग्छ ।

भनिन्छ मानिसले समस्या परेपछि सिक्छ । सिटिजन लाइफ इन्स्योरेन्स् कम्पनीमा कसरी जोडिनुभयो भन्ने जिज्ञासामा रिताको जवाफले हामीलाई भावुक बनायो । उनि भन्छिन, ‘बाबाले राजनीति गर्दागर्दै सम्पत्ति सकिंदै गयो । बुवाआमाको स्याहार सुसार पनि गरेकै थियो । यहीबीचमा दैवको नजर भाइमा पर्यो । कलिलो उमेरमा क्यान्सरका कारण भाइ सुरेन्द्रको २०७४ साल फागुन १० गतेका दिन मृत्युभयो ।भाइ सुरेन्द्रको उपचारमा रिताले धेरै गरिन तर भाइ बाँच्न नसकेपछि भाइको मृत्यु दावी भुक्तानीका लागि प्रक्रिया चलिरहेको थियो ।

एक दिन सिटिजन लाइफका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल प्रमास मेडिकल हलमा सिटामोल किन्न गएको समय भाइ सुरेन्द्रको भुक्तानी निकासा सम्बन्धमा र बीमा अभिकर्ताको रुपमा काम गर्ने बिषयमा पोखरेलको परामर्शपछि रिताले सिटिजन लाइफमा रहेर कार्य गर्न शुरू गरिन् । भाइको भुक्तानीका लागि हिंडिरहँदा बीमाको महत्व बारे झन् बढी बुझ्ने मौका पाइन । भाइको पहिलो किस्ता २ लाख १२ हजार मात्र बुझाएका थियौ मृत्यु दाबी बापत ३१ लख ४४ हजार भुक्तानी पाएको उनले बताइन ।


रिताले भाइको मात्र होइन आफू अभिकर्ता भएर सिटिजन लाइफ इन्स्योरेन्सबाट बीमा गराइदिएका ७ जना ब्यक्तिहरूको अकालमा मृत्यु भएपछि उक्त परिवारलाइ बीमाङ्क रकमसहित काजक्रिया खर्च लगायतका सुविधाहरु उपलब्ध गराएको जानकारी दिइन् ।

यस प्रकार घटना पश्चात् तत्काल परिवारलाई बीमाको मुल रकम भुक्तानी गर्नाले मृतकका आश्रित परिवारका सदस्यलाई ठूलो सहयोग पुगेको प्रतिक्रिया प्राप्त गरेको उनी बताउँछिन् । यतिमात्र होइन सिटिजन लाइफले बीमितको मृत्युपश्चात् पनि दुई गुणा बीमाङ्क लाभको सेवा दिइरहेकोले दोहोरो फाइदा लिन सकिने बताइन् ।

पाण्डेयले मेहनत गरेअनुसार राम्रो प्रतिफल पाइरहेको भनिन्छ । उनले आम्दानीका लागि बेलायत अमेरिका जानु नपर्ने बताउँछिन् । बीमा क्षेत्रमा मेहनत, इमान्दारिता र क्षमता भयो भने असाध्य थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने अवस्था रहेको अनुभव सुनाउँछिन उनी ।

अभिकर्ता इजाजत पत्रको लागि एक हजार पचास लगानी गरेर सामान्य ब्यक्तिले बार्षिकमा गर्ने आम्दानी आफुले मासिक रुपमा गरिरहेको उनले बताइन् । २०७५ साल जेठ १८ गते एजेन्सी मेनेजर बनेकी रिताको छोटो समय मै २०० जना बढीको अभिकर्ताको टिम तयार पारेर आफूलाई एक सफल नेतृत्व, एक सफल व्यवसायी र सफल टिम लिडरको रुपमा नेपाली बीमा जगतमा परिचय बनाउन सफल भईन् । पटक पटक टप एजेन्सी अफ द ब्राञ्च, गोल्ड क्लब विनर, मिलेनियम डलर राउण्ड टेवल (एमडिआरटी) लक्ष्य भई अष्ट्रेलिया, सिंगापुर जस्ता देशहरूमा पुगेर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण समेत लिन सफल भइसकेकी छिन् ।


जीवन बीमा व्यवसायमा तालिम तथा प्रशिक्षणको निकै महत्व रहेको बताउने पाण्डेय स्वदेश तथा विदेशका तालिमहरूबाट शिक्षा, उत्प्रेरणा, जीवन शैली, स्व–व्यवस्थापन लगायत विभिन्न विषयमा सिक्ने मौका मिलेको अनुभव सुनाउछिन् । तालिम तथा प्रशिक्षणले आयआर्जन मात्र नभै व्यक्तित्व विकासमा समेत सहयोग पुगेको उनको प्रतिक्रिया छ ।

सिटिजन लाइफमा रहेर काम गरिरहँदा नारायणगढदेखि गुल्मीसम्म बीमा रकम भुक्तानीका लागि पुग्न पाएको, पाल्पा जिल्ला र आसपासका जिल्लामा समेत कम्पनीका विभिन्न कार्यक्रममा सहभागी हुन पाएको, केन्द्र र शाखा कार्यालयबाट प्राप्त भएको कर्पोरेट क्लब विनरका साथै उत्कृष्ट ब्यवसाय गर्दै गत आर्थिक बर्ष सिनियर एजेन्सी मेनेजर बन्न सफल भसकेकी छन् ।

अमेरिकाको सिकागोमा रहेको अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलेनियम डलर राउण्ड टेवल (एमडिआरटी) मा सन् २०२१ र २०२२ पुग्न सफल रहेकी पाण्डेय एक सफल बीमा व्यवसायी, बीमा सल्लाहकार तथा पर्सनल फाइनान्सियल कन्सलटेन्टको परिचय बनाउन सफल भइसकेकी छिन् ।


जीवन बीमा व्यवसायमार्फत आफ्नो व्यक्तिगत जीवन सुन्दर बनाउनुको साथै देशको बलियो अर्थतन्त्र निर्माण अनि सामान्य देखि विशिष्ट आय भएका व्यक्तिहरुलाई आर्थिक जोखिमबाट मुक्त गराउने अभियानमा पदयात्रा अघि बढाउँदै गरेकी रीता आगामी दिनमा टिम वर्क, सरकारी तहबाट अझै हौसला र आम सर्वसाधारणमा बीमा सेचतना बढाउँदै बीमा क्षेत्रमै केही गरेरै छोड्ने दृढ निश्चय रहेको सुनाउँछिन् ।

 

 

One thought on “मेडिकल लाईनबाट बीमा अभिकर्ताः बीमा व्यवसायपछि फेरियो स्वास्थ्यकर्मी रीता पाण्डेयको जीवन

  1. Thaman singh rana says:

    Good job.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*