चैत १९ देखि वोमी र सूर्योदय लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

२ चैत्र २०७८, बुधबार १०:३०

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुई लघुवित्त एकआपसमा गाभिएपछि ‘सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो ।

दुवै कम्पनीको गत पुस १६ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएसँगै आगामी चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो ।

यी दुई कम्पनी १ बराबर १ शेयर आदानप्रदान गर्ने गरी मर्जरमा गएका हुन् । मर्जर पश्चात उक्त कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वार्ड नम्बर १३, साँगामा रहने जानकारी दिइएको छ ।

वोमी लघुवित्तको चुक्तापूँजी ४१ करोड १९ लाख रुपैयाँ र सूर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ रहेको छ । एक आपसमा मर्जरपछि कम्पनीको चुक्तापूँजी ६५ करोड ९९ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।

त्यस्तै, दुवै कम्पनी बीच गत भदौ १५ गते एक आपसमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै भदौ १६ गतेदेखि ती कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*