हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु, यसरी बच्न सकिन्छ यो रोगबाट

३० फाल्गुन २०७८, सोमबार १३:५४

नेपालमा हात्तीपाइले रोगविरुद्ध विभिन्न खालका अभियानहरु संचालन हुँदै आइरहेको छ । वार्षिक करोडौं रुपैयाँ खर्च गरेर नेपालमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएकोमा स्वास्थ्यसँग सम्बन्धित विज्ञहरुले यसप्रति असन्तुष्टि जनाउँदै आइरहेको छन् ।

नेपालले सन् २००३ देखि हात्तीपाइले रोग निर्मूल पार्न र यससम्बन्धी जनचेतना जगाउन अभियान सुरु गरेको हो । सन् २०२० सम्ममा नै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य भएतापनि हालसम्म हात्तीपाइले रोग उन्मूलन हुन सकेको छैन ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २८ गतेदेखि ३ थरीका हात्तीपाइले रोगगिवरुद्धको औषधि वितरण गरिरहेको छ । यस वर्ष औषधि सेवन अभियान संचालनमारहेका १० जिल्ला मध्ये ५ जिल्लामा तीन थरी औषधि सुरु गरेको छ भने ५ जिल्लामा साबिकको दुई थरी औषधि प्रयोग गरेर यो वर्षको अभियान संचालन गर्दैछ ।

तीनथरी औषधि आइभरमेक्टिन, डी.इ.सी. र अल्बेन्डाजोल खुवाईने जिल्लाहरुमा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली रहेका छन् भने साविक दुई थरी डी.इ.सी. खुवाइने जिल्लाहरुमा झापा, बारा, लमजुङ, पर्वत र बागलुङ रहेको छ ।

नेपालका ६३ जिल्लाबाट सुरु गरिएको यो अभियान ५३ जिल्लामा बन्द गरिसकिएको छ तर यी १० जिल्लाका औषधि खान योग्य सबैले नखााइदिनाले र हरेक दुई दुई वर्षमा रगत जाँच गरि हेर्दा समेत यी जिल्लाका बासिन्दामा रोगको दर नघटेको पाइएकाले यी जिल्लाहरुमा पटक पटक औषधि खुवाउनुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हात्तीपाइले रोगसँग सम्बन्धित अझै पनि भ्रामक धारणा छ । यो रोगविरुद्धको औषधीबारे थाहै नभएका कारण गलत धारणा ब्याप्त छ । चिकित्सकहरुका अनुसार मुख्यगरी हात्तीपाइले रोगबाट बच्न वासस्थान वरिपरी सफा राख्नुपर्ने, लामखुट्टेबाट बच्ने उपायहरु अपनाउनु पर्ने र शरीरको कुनै अंग सुन्निन थाले रगत परीक्षण गराइहाल्नुपर्नेछ ।

हात्तीपाइले रोगबारे जानकारी
हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोईबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असरहरु देखिन्छन् जस्तै हात्तीपाइले र अन्डकोस सुनिने । यस्ता समस्याहरु एकपटक देखिसकेपछि निको पार्न सकिंदैन । हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधी सेवन कार्यक्रम संचालन हुँदै आएको छ ।

हात्तीपाइले रोगको परजीवि मुक्त हुन के गर्ने ?
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष संचालन गर्ने आम औषधी सेवन गर्ने कार्यक्रममा सहभागी भई आफ्नो जिल्लामा संचालनमा रहेसम्म लगातार हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्ने र अरुलाई पनि गर्न लगाउने ।

हात्तीपाइले रोगबाट बच्न कस्तो औषधी सेवन गर्ने र यसले के गर्छ ?
हात्तीपाईले रोगबाट बच्न तीन थरी औषधीहरु (आइभरमेक्टिन, डी.इ.सी. र अल्बेन्डाजोल) प्रयोग हुन्छन् जुन पूर्ण रुपमा सुरक्षित छन् । यी औषधी विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त हुन् र भारतसहित विभिन्न देशमा वर्षौदेखि प्रयोग हुँदै आइरहेका छन् । राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतका वर्षहरुमा खादै आइरहेको दुई थरी औषधीमा यसपटक आइभरमेक्टिन भन्ने औषधी थपेर खुवाउन लागेको हो ।

यी तीन औषधीले हात्तीपाइले रोग लागिसकेकाहरुको अझ धेरै प्रभावकारी रुपमा उपचार हुनका साथै रोग लाग्नबाट समेत बचाउँछ । यसले आन्द्रा र रगतका जुकाहरु मार्दछ साथै आइरभमेक्टिन औषधि लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगीइ हुन्छ । त्यसैले हात्तीपाइले रोग सर्ने प्रक्रियालाई अझ छिटो र प्रभावकारी रुपमा अवरुद्ध गर्न सकिन्छ भन्ने अरु देशहरुको सिकाइले नेपालले पनि यसपाली देखि आम औषधि सेवन अभियान संचालनमा रहेका १० मध्ये ५ जिल्लामा तीन थरी औषधी सुरु गरेको छ भने ५ जिल्लामा साबिकको दुई थरी औषधि प्रयोग गरेर यो वर्षको अभियान संचालन गरेको हो । नेपाल सरकारले तीन थरी औषधिलाई सबै रोग प्रभावित जिल्लाहरुमा विस्तार गर्दै लैजाने नीति लिएको छ ।

यो औषधिको सेवनले हात्तीपाइले रोग नलागेकालाई कसरी फाइदा गर्छ ?
पहिलो कुरा हात्तीपाइले रोगका लक्षणहरु नदेखिएपनि रोगका परजीविहरु शरीरमा हुनसक्छन् र औषधि अहिले खायो भने ती परजीविहरु मर्छन् र भविष्यमा रोग देखिँदैन । दोस्रो कुरा औषधि सेवनका कारण एक व्यक्तिमा भएका हात्तीपाइलेका परजीविहरु अरु स्वस्थ्य मानिसको शरीरमा सर्दैनन् । तेस्रो कुरा समुदायमा केही व्यक्तिमा रोगका परजीविहरु छन् र सो व्यक्तिले उक्त औषधि सेवन गरेमा लामखुट्टेले टोकेतापनि अन्य व्यक्तिको शरीरमा ति परजीविहरु सर्दैनन् ।

हात्तीपाईले रोगविरुद्धको औषधि क–कसले सेवन गर्नुपर्दछ ?
आम औषधि सेवन कार्यक्रम संचालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिहरुले यो औषधि अनिवार्य रुपमा सेवन गर्नुपर्दछ ।

हात्तीपाईले रोग विरुद्धको औषधि क–कसले सेवन गर्नुहुँदैन ?
– दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु
– गर्भवती र सात दिन सम्मका सुत्केरी
– छारे रोगको समस्या भएका व्यक्तिहरु
– सिकिस्त विरामीहरु
सिकिस्त विरामीहरु भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरु, अस्पताल भर्ना भएका बिरामीहरु र त्यस्ता बिरामीहरु जो जीवन भर चिकित्सीय उपचार सहायतामा बसेका हुन्छन् जस्तै मिर्गौला रोगको लागि डायलासिस आदि ।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा
यो औषधि खाली पेटमा खानु हुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्दछ । ती लक्षणहरु केही घण्टाभित्रमा आफैं हराएर जाने हुन्छ । केही गरी ती लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्दछ । आम औषधि सेवन कार्यक्रम लागू भएका जिल्लाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले तपाईको घर नजिकैको बुथमा तथा घरभेटमा औषधि खुवाउछन् ।

हात्तीपाईले रोगको परिचय
. लामखुट्टेको टोकाईबाट सर्ने, धागो जस्तै मसिनो आकारको परजीविका कारण लाग्ने रोगलाई हामी हात्तीपाईले भनि चिन्दछौं ।
. यो परजीवि मानिसको लसिकका प्रणालीमा बस्दछ ।
. लामखुट्टेको कारण संक्रमित मानिसबाट स्वस्थ्य मानिसमा रोग सर्दछ ।
. यस रोगलाई Vector Borne Disease साथै  Neglected Tropical Disease पनि भनिन्छ ।

 हात्तीपाईले रोगको कारण
. Wuchereria bancrofti (90%)
. Brugia malayi
. Brugia timori
.यस रोग लगाउने परजीविहरु मानिसको शरिरमा मात्र बाँच्न सक्छन ।
. परिजीविहरु २० वर्षसम्म पनि मानव शरिरमा जीवित रहन सक्छन् ।

के हात्तिपाईले रोगको लक्षण सबै संक्रमितमा देखिन्छ त ?
. यो रोगबाट संक्रमित ब्यक्तिमा लक्षण नदेखिने र देखिने दुवै अवस्थामा हुन सक्छ ।
लक्षण नदेखिने अवस्था
. संक्रमित मानिसहरुमा कुनै पनि किसिमको लक्षण देखिदैन ।
. संक्रमित मानिसको रातीको रक्त नमुना संकलन गरि जाँच गरिएमा रगतमा परजीवि देखिन सक्छ ।
. भिडियो एक्स–रे गरेर हेर्दा lymph vessel हरु फैलिएको र वयस्क जुकाहरुको झुप्पाहरु देखिन सक्छ ।

लक्षण लेखिने अबस्था
. वयस्क परजीविहरु कारण lymph vessel हरु बिस्तारै क्षति हुँदै जान्छन्, जुन हामीलाई थाहा नै हुँदैन ।
. पछिल्लो अवस्थामा संक्रमणका कारण हाम्रो शरीरका अंगहरु बिस्तारै सुन्निन थाल्दछन् । (खुट्टा, हाल, जननेन्द्रीयहरु)

विश्वमा हात्तीपाईले रोगको अवस्था
ड्ड संसारका ७२ मध्ये २५ संक्रमित देशहरुले आम औषधी सेवन कार्यक्रम सम्पन्न गरिसकेका छन् । हाल ८५.९ करोड मानिसहरु यस रोगको जोखिममा छन् ।

. पछिल्लो उपलब्ध तथ्याङ अनुसार अहिलेसम्म १२ करोड मानिसहरु संक्रमित तथा ४ करोड मानिसहरु अंगभंग भएका छन् ।
. डब्लुएचओ दक्षिण पुर्वी एशियाका ११ (बङलादेश, भारत, एन्डोसिया, मालदिभ्स, म्यानमार, नेपाल, श्रिलङका, थाइल्यान्ड, तिमोर लेस्टे) मध्ये ९ देशहरुमा यो रोगको जोखिम पाईएको छ ।
. संसारभर जोखिममा रहेका मध्ये ६३ प्रतिशत मानिसहरु यिनै ९ देशमा रहेका छन् । (२०१०)

नेपालमा हात्तीपाईले रोग निवारण कार्यक्रम
लक्ष्य
. सन् २०३० सम्म यस रोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिने ।

रणनीतिहरु
. वर्षको १ पटकका दरले आम औषधी सेवन अभियान संचालन गर्ने र रोग सर्ने प्रक्रिया अबरुद्ध गराउने ।
. रोगीहरुको ब्यवस्थापन तथा अंगभंग हुन बाट रोक्ने ।

नेपालमा हात्तीपाईले रोगको अवस्था
. जोखिममा रहेका जिल्ला : ६४
. म्यापिंङ : २००५, २०१२, २०२०
. रोगको प्रीभालेन्स : १३ प्रतिशत (सन् २००१)
. रुग्णता प्रतिवेदन गरिएका बिरामीहरु : ३० हजार भन्दा बढि (धेरै हाईड्रोशि)
२०२० मा गरिएको सर्वेक्षणबाट रसुवा जिल्ला पनि जोखिममा रहेको पाइएको छ ।

हात्तीपाइले रोग निवारणका रणनीति तथा पाईलाहरु :

हात्तीपाईले रोग निवारणका लागि प्रयोग हुने औषधिहरु
. यी तीन थरि औषधिहरु पूर्ण रुपमा सुरक्षित दशकौं देखि विश्व भरी प्रयोग हुंदै आईरहेका औषधी हुन् ।
. दुई थरि औषधिमा यसपालीदेखि आइभरमेक्टिन भन्ने औषधि थपेर ५ जिल्लामा खुवाउन लागिएको हो ।
. यी तीन थरी औषधिले हात्तीपाईले रोग लागिसकेकाहरुले अझ धेरै प्रभावकारी रुपमा उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ । यसले आन्द्रा र रगतका जुकाहरु मार्दछ साथै यो औषधि लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ ।
. यी तीन थरि औषधिले आम औषधि सेवन कार्यक्रमलाई अझ प्रभावकारी बनाइ समुदायमा रोग सर्ने प्रक्रिया छिटै रोक्न मद्दत गर्ने हुनाले क्रमिक रुपमा आगामी वर्षहरुमा सबै रोग प्रभावित जिल्लाहरुमा बिस्तार गर्ने योजना रहेको छ ।

नेपालमा आम औषधि सेवन अभियानको अवस्था

आम औषधी सेवन अभियान कार्यक्रमको तयारी (२०७८।०७९)
. कार्यक्रमको योजना तर्जुमा केन्द्र प्रदेश तथा स्थानिय तहहरुमा संचालन

. औषधी तथा आवश्यक सामग्रीः सबै जिल्ला तथा पालिका तहसम्ममा पूगी सकेको र स्वास्थ्य संस्थामा पुग्ने क्रममा रहेको छ ।

. पालिका स्तरमा तयारीका कार्यक्रमहरुः संचालन भईरहेको
. लक्षित जनसंख्याः १० जिल्लाका (११४ स्थानीय तह) ६२ लाख ६३ हजार
. आम औषधि सेवन कार्यक्रम परिचालन हुने स्वास्थ्यकर्मीहरुः ४ हजार ७ सय म.स्वा.स्व.से.ः ८ हजार ८ सय जना
. अभियान संचालन हुने मितिः २०७८ फागुन २८ गतेदेखि

आम औषधि सेवनको वार्षिक कभरेज

आम औषधि सेवन कार्यक्रमको विस्तार

बजेट बिनियोजन
हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानका लागि बजेट छुट्याइएको छ । सो कार्यक्रम वा अभियानका लागि कुल १२ करोड ९३ लाख ९ हजार रुपैयाँ बजेट छुट्याइएको छ । सो मध्ये इडिसिडि संघको लागि १२ लाख रुपैयाँ (०.९०%), प्रदेश स्वास्थ्य निर्देशनालय।जिल्ला समेत (प्रदेश)को लागि ८१ लाख ९ हजार रुपैयाँ (६.३%) र १० जिल्लाका ११४ पालिका (स्थानिय तह)का लागि १२ करोड रुपैयाँ (९२.८०%) बजेट बिनियोजन गरिएको छ ।

आम औषधि सेवन अभियानको अनुगमन तथा मूल्यांकन : 

जिल्ला अनुसार लक्षित जनसंख्या
. झापामा ९ लाख ६२ हजार ८५८
. मोरङ ११ लाख ११ हजार १४६
. बारा ८ लाख २० हजार २६७
. लमजुङ १ लाख ६० हजार ७८१
. पर्वत १ लाख ३१ हजार ३९
. बागलुङ ३ लाख ११ हजार ९२२
. कपिलबस्तु ६ लाख ६९ हजार ३०४
. दाङ ६ लाख ३० हजार ९१९
. बाँके ५ लाख ६८ हजार ३९
. कैलाली ८ लाख ९७ हजार ३८२
. जम्मा जनसंख्या ६२ लाख ६३ हजार ६५७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० जिल्लाका ११४ स्थानीय तहमा ६२ लाख ६३ हजार जनसंख्यामा ४ हजार ७०० जना स्वास्थ्यकर्मी र ८ हजार ८०० महिला स्वास्थ्य स्वयं सेविका खटाएर आम औषधिक सेवन कार्यक्रम परिचालन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*