बैतडीमा शीतभण्डार निर्माण सुरु

२८ फाल्गुन २०७८, शनिबार १८:४६

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ सिउडेमा शीतभण्डार निर्माण सुरु भएको छ ।

सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत गाउँपालिकाले प्रपातालभुमेश्वर नारी एकता बहुउद्देश्यीय कृषि सहकारी संस्थासँग सम्झौता गरी शीतभण्डार निर्माण सुरु गरेको हो । सङ्घीय सरकारको रु ४८ लाख र स्थानीयवासीको रु छ लाख बराबरको जनश्रमदान गरी कूल ५४ लाखको लागतमा शीतभण्डार निर्माण हुने बताइएको छ ।

प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेशसभा सदस्य लीलाधर भट्ट र गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले संयुक्तरुपमा शीतभण्डारको शिलान्यास गरेका छन् ।

स्थानीय किसानले उत्पादन गरेका कृषि उपज फलफूल तथा तरकारी समयमै बिक्री नहुँदा सड्ने तथा बिग्रने भएकाले किसानको मागलाई लक्षित गर्दै शीतभण्डार स्थापना गरिएको उपाध्यक्ष विष्टले बताउनुभयो । शीतभण्डार निर्माण भएपछि स्थानीय किसानलाई कृषिउपज सङ्कलन तथा भण्डारणका लागि सहज हुने विश्वास गरिएको छ । यसैबीच शीतभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउने दाता स्थानीयवासी गोमती चन्दको परिवारलाई सम्मानसमेत गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*