रसुवागढी नाका थप सहज बनाउन चिनियाँ पक्ष सहमत

२८ फाल्गुन २०७८, शनिबार १८:२१

रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण घटदै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले गर्नुभएको प्रयास फलदायी भएको छ ।

नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखदेखि दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उहाँले बताउनुभयो । चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि याहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ । कोरोना सङ्क्रमणपश्चात् सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टनरबाट आयात सुरू गरेको थियो ।

अहिले दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनरमार्फत व्यवसायी सामग्रीसहित रसुवागढी आउन थालेपछि यताका २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा पलाएको व्यवसायीले बताएका छन् । पहिलो चरणको कोरोना मन्थर भएपश्चात् पहिलो चरणमा तीन, छ हुँदै नौवटा कन्टेनरद्वारा सामग्री आयात भइरहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*