अर्थ मन्त्रालयको चेन अफ कमाण्डमा चलखेल हुँदा समस्या, अर्थतन्त्रमा गम्भिर असर

२६ फाल्गुन २०७८, बिहीबार ११:५५

काठमाडौं । देशको ढुकुटीको नेतृत्व गर्ने अर्थमन्त्रालयको चेन अफ कमाण्डमा अनाधिकृत व्यक्तिले केही व्यक्तिहरुको सहयोगमा चलखेल हुँदा अर्थतन्त्रमा गम्भिर असर पर्न थालेको छ ।

हाल अर्थमन्त्रालयको नेतृत्व यसअघिका उज्यालो मन्त्री भनेर परिचित जनार्दन शर्माले सम्हाल्दै आएका छन् । उनले नेतृत्व सम्हालेको छ महिना पुरा भइसक्दा समेत नतिजामुखी परिणाम दिन बाँकी मात्रै छैन कि देशको अर्थतन्त्र गम्भिर दिशातर्फ अघि बढिरहेको अर्थविद्हरुले चेतावनी दिँदै आएका छन् ।

देशको अर्थतन्त्र सुध्रिनुको साटो दिनानु दिन बिग्रदै जानुमा धेरै वटा कारणहरुको समष्टि रुप भएपनि एउटा महत्वपूर्ण कारण अर्थमन्त्रालयको चेन अफ कमाण्डमा अनाधिकृत व्यक्तिले हस्तक्षेप गर्नु समेत रहेको विषयमा चर्चा हुन थालेको छ ।

अर्थमन्त्री शर्मालाई असफल बनाउन उनी निकटकै नै सक्रिय रहेको तथा अर्थ मन्त्रालयका र राजश्व सचिव कृष्णहरि पुस्करले भूमिका खुलेको चर्चा राजनीतिक र अर्थ जगतमा चल्न थालेको छ । सचिव कृष्णहरि पुस्करले देशको अर्थतन्त्रलाई बलियो पार्ने अर्थमन्त्री शर्माको योजना र नीतिलाई कार्यान्वयन गर्नुको साटो बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट प्रम पत्नी आरजु देउवाको लागि काम गर्ने गरेका छन् । जसका कारण अर्थमन्त्रीले चाहेको नतिजा निकाल्न समस्या पर्दै गएको प्रारम्भिक विश्लेषण गरिएको छ ।

स्रोतका अनुसार नेपाल राष्ट्र बैंक, सेबोन र बीमा समिति मात्रै नभएर अन्य कैयौं निकायमा मन्त्री शर्मालाई थाहै नदिई सेटिङका कामहरु भटाभट हुन थालेपछि अर्थमन्त्रालयका राम्रा र इमान्दार कर्मचारीहरु तीन छक पर्न थालेका छन् । अर्थमन्त्रीकै चेन अफ कमाण्डमा समेत समस्या रहेको गुनासो मन्त्रालयका इमान्दार कर्मचारीहरुले गर्न थालेका छन् । ‘म फलानो, मन्त्रीले भनेको यो काम आजै हुनुपर्छ’ भन्दै धाउने माफियाको गिरोहले यतिबेला अर्थमन्त्रालयमा विभिन्न अनैतिक कामहरु अघि बढाइरहेको भन्दै मन्त्रालयका इमान्दार कर्मचारीहरु आश्चर्यमा परेका छन् ।

रोचक कुरा के छ भने यसअघिका अर्थमन्त्री विष्णु पौडेलले तीन अर्ब घुस खाएको भन्दै माओवादी सहितका गठबन्धन दल सम्बद्ध विद्यार्थीहरुले अख्तियार उजुरी हालेका थिए । हिमालयन रि ओली सरकारको पालामा भएको सबैभन्दा ठूलो आर्थिक घोटाला काण्ड हो । अहिले अर्थमन्त्रालयबाट भटाभट हिमालयन रिको पक्षमा निर्णय गर्न दवाव कसले दिइरुहेको छ ? गत मंसिर ९ गते बीमा समितिले गरेको कीर्ते निर्णयले हिमालयन रिलाई अर्ब फाइदा पुग्ने भयो । मन्त्री शर्माले एक दिन भाषणमा सो छानविन गर्ने पनि भने तर किन भएन ? अर्थमन्त्रालयमा मन्त्री शर्माले भनेको नहुने भएपछि छायाँ मन्त्री को हो ? खोजी गर्ने बेला भएन र ?

देशको ढुकुटीको नेतृत्व गर्ने अर्थमन्त्रालयमा भइरहेको काम कारवाहीप्रति प्रचण्ड निवास खुमलटार समेत सन्तुष्ट हुन नसकेको जनाइएको छ । बालुवाटारबाट फरिया नातो जोडेर आउनेहरुलाई सचिवले स्वागत गर्ने, मन्त्रीको नाममा केही व्यक्तिले भनेको नमानी सुख नहुने अवस्था सिर्जना भएपछि विभिन्न विभागहरुमा कार्यरत कर्मचारीहरुले भटाभट सरुवा माग्न थालेका छन् ।

उज्यालोका नायक भनेर चिनिएका अर्थमन्त्री जनार्दन शर्मा यतिबेला अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा विगतमा जस्तै नतिजामुखी परिणाम दिन नसकेकोमा चिन्तित बन्दै दिनहु काममा खटिदै आएका छन् । चेन अफ कमाण्डमा घुसपैठ भएका कारण बीमा समिति विवादास्पद र बीमाको सिद्धान्त विपरितको निर्णय गर्दा समेत अर्थमन्त्री शर्माले कारवाही गर्न सकेका छैनन् भने नेपाल जस्तो सानो देशमा अर्को स्टक एक्सचेन्ज खोल्ने दाउमा रहेको गिरोहले अर्थमन्त्रालयमा हालीमुहाली गर्दैै हिडिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*