१६% लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा चैत १८ गते बस्ने, बुकक्लोज कहिले ?
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत १८ गते बस्नेगरी आह्वान गरेको हो ।
कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले सभा चैत १८ होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा कास्कीमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले साविक सहारा विकास बैंकलाई प्राप्तिपश्चात कायम चुक्तापूँजी ३ अर्ब ९४ करोड रुपैयाँबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर पारित गर्नेछ ।
साथै विकास बैंकको चुक्तापूँजीको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक समूहका शेयरधनीको हुनुपर्नेमा गरिमा विकास बैंकमा साविक सहारा विकास बैंक प्राप्ति भई शेयर अभिलेखन हुँदा संस्थापक शेयरधनीहरुको स्वामित्व ५१ प्रतिशत कायम नहुने अवस्था भएकोले नेपाल राष्ट्र बैंक समक्ष स्वीकृति प्राप्त गरी विकास बैंकले प्रस्ताव गरेको बोनस शेयर वितरण्ढा पश्चात कायम हुने कुल चुक्तापूँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १ लाख ९ हजरा ८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।साथै आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि शेयरधनी दर्ता किताब (बुकक्लोज) चैत चैत ४ गतेदेखि चैत १८ गतेसम्म गर्ने निर्णय गरेको छ । सो अनुसार चैत ३ गते सम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।