बीमा क्षेत्रमा महिला सहभागिता बढ्दै, नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति बलियो

रिना खत्री
२४ फाल्गुन २०७८, मंगलवार २१:३३

काठमाडौं । कुनै समय थियो, बीमा क्षेत्रमा महिलाको उपस्थिति निकै न्यून थियो । तर, पछिल्ला दिनहरुमा महिलाहरु दैलाको ठेलाबाट बाहिर निस्कन थालेसँगै बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारीका लागि सजिलो, सहज र पेशागत सुरक्षा हुने भएकोले बीमा क्षेत्रमा नारी सहभागिता बढेको बीमा विश्लेषकहरु बताउँछन् ।

हाल बीमा क्षेत्रमा दुई जना महिला उच्च तहमा पुगेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा अध्यक्ष पदमा प्रेमा राज्यलक्ष्मी सिंह कार्यरत रहेकी छिन् भने प्रभु इन्स्योरेन्स कम्पनीमा कुसुम लामाले नेतृत्व गर्दै आएकी छिन् । त्यस्तै बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ) बनेर युनाईटेड इन्स्योरेन्स नेतृत्व गरिरहेकी उपासना पौडेलले उल्लेख्य प्रगति गर्दै अघि बढेकी छिन् ।

बीमा कम्पनीमा मात्रै नभई नियामक निकाय बीमा समितिमा पनि पुजन ढुंगेल अधिकारी निर्देशक पदमा रहेर मानव संशाधन तथा बीमा पोलिसी सम्बन्धी महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी छिन् । त्यस्तै निशा घिमिरे, पुनम ज्ञवाली र लक्ष्मी ढकाल उप निर्देशक पदमा कार्यरत रहेका छन् ।

नेपालमा २० वटाको संख्यामा रहेको निर्जीवन, १९ वटाको संख्या रहेको जीवन बीमा र २ पुनर्बीमा कम्पनी छन् । ति कम्पनीहरु महत्वपूर्ण पदहरुमा महिलाहरुले कुशलतापूर्वक नेतृत्व सम्हाल्दै आएका छन् । शिखर इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धकको रुपमा सविता मास्केले नेतृत्व गर्दै आएकी छिन् ।

नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी छिन्, उनले सम्हाल्दै आएको कार्यकाल दोस्रो हो । यस्तै, प्रधानन्यायाधीश, सभामुख जस्ता पदमा पनि महिलाले कार्यभार सम्हालिसकेका छन् । तर पनि वित्तीय क्षेत्रको नेत्तृत्वदायीमा अझै पनि महिलाहरुको न्यून उपस्थिति नै रहेको देखिन्छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा क्षेत्रमा महिना उपस्थिति बढ्दै गएको बताउँछन् । सरकारले ल्याएको नीति र बीमा क्षेत्रको विशेषताको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको पौडेलको भनाई छ । समग्र बीमा क्षेत्रमा ४० प्रतिशत महिलाहरुको सहभागी रहेको अनौपचारिक तथ्याङ्क बीमा समितिसँग छ ।

‘पछिल्लो समय नेपाल सरकाले महिलामैत्री नीति ल्याएको छ भने बीमा समिति तथा कम्पनीहरुले यसको प्रभावकारी कार्यान्वयनमा कदम चालेका छन्, बीमा कम्पनीहरुले महिलालाई रोजगारी दिनेदेखि महत्वपूर्ण जिम्मेवारी दिने गरको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको हो,’ कार्यकारी निर्देशक पौडेलले बताए ।

त्यस्तै, बीमा समितिमा अधिकृत तहमा २०६३ सालामा नियुक्त भएकी पूजन ढुगेल (अधिकारी) ले विगत र वर्तमानलाई हेर्दा महिलाहरुको सहभागी धेरै नै बृद्धि भएको बताउँछिन् । २०६३ साल बैशाखमा अधिकृत तहमा बीमा समितिमा प्रवेश गर्दा एक मात्र महिलाको रुपमा काम गरेको स्मरण गर्दै उनले हाल बीमा समिति र कम्पनीहरुमा महिलाहरुको उपस्थिति गर्व गर्न लायक अवस्थामा पुगेको बताउँछिन् ।

एक मात्र महिलो सिइओ
बीमा क्षेत्रमा महिला सहभागिता उल्लेख्य भएपनि व्यवस्थापनको नेतृत्व तहमा महिला कम नै रहेका छन् । अहिले संचालनमा ४० वटा बीमा कम्पनीमध्ये युनाईटेड इन्स्योरेन्स कम्पनीमा मात्र महिला प्रमुख कार्यकारी रहेको छ । कम्पनीको सिईओमा उपासना पौडल मात्र रहेकी छिन् । उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यस्तै कम उमेर समूहबाट पनि उनी पहिलो रहेको समेत भन्न सकिन्छ । ३४ वर्षको उमेरमा नै पौडेल सिइओको भूमिकामा पुगेकी छन् । विगत एक दशक बढी समयको कार्यानुभव बटुलेकी पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छन् ।

 

४१ वटा कम्पनीमध्ये दुई वटा कम्पनीले सञ्चालक समितिको अध्यक्षमा महिला छन् । ४१ कम्पनीमध्ये नेशनल लाइफ र प्रभु लाइफमा मात्र महिला अध्यक्षले नेत्तृव गरिरहेका छन् ।

नशेनल लाइफले अध्यक्षमा प्रेमा राज्य लक्ष्मी सिंह र प्रभु इन्स्योरेनस कम्पनीको अध्यक्षमा कुसुम लामा रहेकी छिन् । त्यस्तै, नेशनल लाइफको संचालक तर्फ सदस्यमा भवानी राणा पनि छिन् ।

निजी बीमा कम्पनीहरुमा उल्लेख्य महिला
बीमा विज्ञ भोजराज शर्माले पछिल्लो समय निजि बीमा क्षेत्रमा महिला सहभागिता राम्रो रहेको जानकारी दिए । विगतका बर्षहरुको आकाँडा हेर्न हो भने पनि निजि कम्पनीहरु महिला मैत्री बनेको र नेत्तृवदायी भूमिकामा सक्रिय रहेको उनले बताए।

उनले भने–‘नेपालमा बीमा नै आफैँ प्रारम्भिक चरणमा रहेकाले तत्काल महिलाहरु प्रमुख कार्यकारी पदमा पुग्न केही समय लाग्न सक्छ ।’ उनले पहिलेको तुलनामा बीमा क्षेत्रमा महिला सहभागिता वृद्धी भएको बताए ।

बीमा क्षेत्रमा बीमा समिति, बीमा कम्पनी, सर्भेयर, अभिकर्ताको रुपमा रोजगारी गर्ने अवसर हुन्छ । हाल उक्त रोजगारीहरुमा आकर्षण बढ्ने क्रममा छ । बीमा कम्पनीहरुले महिलामैत्री वातावरणमा काम गर्दै आएकाले यस क्षेत्रमा काम गर्ने महिला बढेको जानकारहरु बताउँछन् ।

पछिल्लो समय बीमाको पहुँच बढ्दो क्रममा छ । बीमा समितिका अनुसार उक्त वृद्धी सम्भव भएसँगै बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा समेत वृद्धी हुँदैछ । यस्तो कर्मचारी वृद्धीसँग महिला कर्मचारीहरु जोडिने बीमा समितिले जानकारी दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*