नेपाल राष्ट्र बैंकले नयाँ फिचरसहितको १ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने, के–के छन् विशेषता ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने तयारी गरेको छ ।
बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको विभिन्न विशेषतासहितको १ रुपैयाँ दरको सिक्का फागुन २५ गतेदेखि चलनचल्तीमा ल्याउने तयारी गरेको हो ।
कस्तो विशेषता छ नयाँ सिक्कामा ?
सिक्काको अग्र भागमा
– सिक्को वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । साथै सो ६४ वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहनेछ ।
त्यस्तै, सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘रि वन’ र तल्लो भागमा देवानगरी लिपिमा १ रुपैयाँ लेखिएको छ । सो विशेषताका साथै सिक्कामा नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको छ ।
सिक्काको पृष्ठ भागमा
नेपाल राष्ट्र बैंकले फागुन २५ गतेदेखि प्रचलनमा ल्याउने लागेको नयाँ फिचरको उक्त सिक्काको पृष्ठ भागमा वृत्ताकार घेराभित्र ६४ वटा थोप्लाहरु रहेको छ ।
आठ वटा थोप्लासहितको वृत्ताकार चित्रभित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्य, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजिमा ‘सगरमाथा नेपाल’ लेखिएको छ ।