बैंकले कर्जा रोक्दा निर्जिवन बीमा कम्पनीमाथि असर, सम्पत्ति र गाडी बीमा घट्दै

२३ फाल्गुन २०७८, सोमबार ०७:५४

काठमाडौं । तरलता अभावका कारण बैंकहरुले कर्जा प्रवाह रोक्दा सवारी साधन तथा सम्पत्ति बीमामा चर्को दवाव बढेको छ । निर्जिवन बीमा कम्पनीहरुको व्यवसायको प्रमुख स्रोत बैंकका शाखाहरुबाट प्रवाह हुने ऋण थिए । बैंकले ऋण प्रवाह रोकेपछि बीमा कम्पनीहरुले नयाँ व्यवसाय पाउन छोडेका छन् ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बैंकबाट ऋण प्रवाह घट्दा नयाँ बीमा पोलिसीको बिक्री घटेपनि नविकरण बीमाहरु भइरहेको बताउँछन् । उनले पुराना बीमितहरुले आफ्नो सम्पत्ति तथा साधनको जोखिम रक्षावरणको लागि नविकरण गराउने कार्य नियमित रुपमा भइरहे पनि नयाँ बीमा पोलिसी घटेको हुनसक्ने बताए । अध्यक्ष क्षेत्रीले भने, ‘बीमा पोलिसीको नविकरण भइरहेको छ जुन औषत व्यवसाय हो, बैंकले ऋण प्रवाहमा कडाई गरेपछि नयाँ बीमा पोलिसी स्वतः घट्छ ।’ नयाँ बीमा पोलिसी घट्दा निर्जिवन बीमाको बृद्धिदरमा असर पार्ने अनुमान गरिएको बताए ।

बैंकहरुले ऋण बन्द गर्दा सबैभन्दा धेरै सवारी बीमा प्रभावित भएको छ । सरकारले सवारी साधन आयात गर्दा शतप्रतिशत मार्जिन राख्ने व्यवस्था गरेकोले सवारी साधन आयात घटेको तथा ऋण बन्द हुँदा नेपालमै भएका सवारी साधन समेत बिक्री कम हुँदा अटो बीमा प्रभावित भएको बीमा कम्पनीहरुले स्वीकार गरेका छन् ।

बीमक संघले निर्जिवन बीमा क्षेत्रमा आर्थिक संकटको असरबारे कुनै छलफल गरेको छैन । त्यसैले यसको असर कति परेको छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन । गत माघ मसान्तसम्मको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी २० प्रतिशतले बृद्धि भएको देखिएको छ । संघले आर्थिक संकटको असर बैंकमा देखिए पनि बीमा क्षेत्रमा ठूलो असर नपर्ने तर बृद्धिदरमा असर पर्ने जनाएको छ । छ महिनाको तथ्याङ्कमा २० प्रतिशत बृद्धि देखिएकोले आगामी दिनमा घटेपनि बृद्धिदरमा केही संकुचन आउने विश्वास गरेको छ ।

तर, कतिपय बीमा कम्पनीका शाखा प्रमुखहरुले भने निर्जिवन बीमाको अवस्था दयनीय रहेको बताउन थालेका छन् । एक बीमा कम्पनी शाखा प्रमुखले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘बैंकमा ऋण लिन आउथे, ऋण लिन बीमा अनिवार्य थियो त्यसैले उनीहरु आफ्नो घर गाडीको बीमा गराउने कम्पनी खोज्दथे, अहिले बैंकमा ऋण ठप्प छ, हामीले क्लाईन्ट कहाँ खोज्ने भनेर अन्योलमा परेका छौं ।’ बीमापोष्टले गरेको छलफलमा कतिपय बीमा कम्पनीका शाखाले टार्गेट पुर्याउन नसक्ने अवस्थामा छन् । आर्थिक संकटको चपेटामा परेका बीमा क्षेत्रमा सबै कम्पनीहरुको हालत कठिन बन्दै गएको छ ।

निर्जिवन बीमा क्षेत्रमा आर्थिक संकटले पारेको अप्ठेरोबारे कुनै पनि प्लेटफर्ममा छलफल भएको छैन ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*