सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ सुवेदीसहित तीन जनालाई जेलमा पठाउने विराटनगर उच्च अदालतको आदेश

२२ फाल्गुन २०७८, आईतवार १२:०७

विराटनगर । सप्तकोशी डेमलपमेन्ट बैंकका सिईओ नविन सुवेदी सहित तीन जनालाई पुर्पक्षका लागि जेलमा पठाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको इजालसले बैंकभित्र भ्रष्टाचारमा संलग्न सिईओ सुवेदीसहितका कर्मचारीलाई जेलमा पठाउन आदेश दिएको हो ।

सप्तकोशी डेभलपमेन्ट बैंकको ट्राफिचोकस्थित कार्यालयबाट रेमिटेन्सको १५ करोड ७० रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पुष्टि भएपछि सीईओ सुवेदीसहितका कर्मचारी पक्राउ परेका थिए । बैंकमा रेमिट्यान्सबाट आएको रकम खातावाल बबिता सुवेदीको नाममा १४ करोड भन्दा बढि रकम ट्रान्सफर भएको फेला परेपछि प्रहरीले नै बैंकिङ कसुर मुद्दा चलाएको हो ।

७० करोडभन्दा बढि रकम अनियमितता गरेको आरोप पक्राउ परेका विराटनगरस्थित सप्तकोसी डेभलपमेन्ट बैंकका सिईओसहित पाँच जना कर्मचारी मध्ये तीन जनालाई मुद्दाको किनारा नलाग्दा सम्म जेलमा पठाउने आदेश भएको छ भने दुई जना कर्मचारीलाई तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको हो । आदेशसँगै दुई जना कर्मचारीहरु बैंकको सेवा विभागका वरिष्ठ सहायक होमप्रसाद पौडेल र बैंकका अपरेसन प्रमुख अमित थापा जनही दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

बैंकका तत्कालीन सीईओ नवीन सुवेदी, लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सो काण्डमा संलग्न अन्य सात जना फरार छन् । सातजनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । फरार हुनेमा बैंकका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, खातावाला बबिता बस्नेत, वरिष्ठ सहायक शुभेच्छा निरौला, कमल दाहाल र मनोज भट्टराई छन् ।

सप्तकोशी डेभलपमेन्ट बैंकका नौ कर्मचारी र तीन खातावाला गरी १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा यही फागुन १० गते मुद्दा दायर भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*