दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउनेमा हाइड्रोपावर
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा उच्च गिरावट आएको छ । पछिल्लो समय नेपालमा एमसीसीको बहसले गर्दा नेपालको पूँजीबजारमा प्रभाव देखिएको छ ।
केहीदिनयता शेयरबजारमा खासै रौनकता देखिएको छैन, जसकारण कारोबार रकम समेत ह्वात्तै घट्न पुगेको छ । अघिल्लो दिन ७ अंकले मात्रै घटेको नेप्से परिसूचक आज ४३.१० अंकले घट्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६७ रुपैयाँको कारोबार भएको छ ।
आज केही थोरै कम्पनीको सामान्य प्रतिशतले मात्रै शेयरमूल्य बढेको छ भने आज धेरै कम्पनीको शेयरमूल्य उच्च अंकले घट्न पुगेको छ । आज दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । तेह्रथुम पावर र सामलिङ पावर कम्पनीको शेयर १० प्रतिशत अर्थात् नकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, दिव्यशोरी हाइड्रोपावरको ८.५५ प्रतिशत, मैलुङ खोला हाइड्रोपावरको ६.७८ प्रतिशत, न्यादी हाइड्रोपावरको ६.६७ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ६.४२ प्रतिशतले घटेको हो ।