आफ्नै निर्णयविरुद्ध जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा उजुरी गरेको खुलासा

१६ फाल्गुन २०७८, सोमबार १२:००

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आफ्नै सञ्चाक समितिको निर्णय विपरित खिलुङ कालिका काण्डका घोटालामा संलग्नमाथि कारवाही गरी रकम असुल गर्नुको साटो पुनर्बीमा कम्पनीका विरुद्धमा बीमा समितिमा उजुरी दिएको खुलेको छ ।

खिलुङ कालिका एग्रो प्रा.लिमा कुखुरा मरिसकेपछि बीमा गरेर दावी भुक्तानी बापत करिब साढे तीन करोड भुक्तानी गरिएको घटनामाथि नेपाल पुनर्बीमा कम्पनीले दावी भुक्तानी नदिने निर्णय गरेको थियो । सो निर्णयका विरुद्धमा गत साता बीमा समितिमा उजुरी दिएको जनरल इन्स्योरेन्स कम्पनीको उजुरीबारे बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई पत्राचार गर्दै ७ दिनभित्र जवाफ मागेको छ ।

तर, बीमापोष्टलाई प्राप्त प्रमाणमा खिलुङ कालिका एग्रोको बीमा पोलिसी जारी देखि दावी भुक्तानीसम्मका सबै कार्यहरु कम्पनीका अध्यक्ष कुनाल कयाल तत्कालिन महाप्रबन्धक एसके तमोट, लेखा प्रमुख निल बराली तथा अर्का कर्मचारी प्रदिप कुमार यादवको संलग्नतामा भएको ठहर गर्दै पुनर्बीमा कम्पनीबाट दावी भुक्तानी नलिई घटनामा संलग्न व्यक्तिहरुबाट दामासाहीले असुल उपर गर्ने र सो काण्डमा संलग्न दोषीहरुलाई निलम्वन गर्न सञ्चालक समिति समक्ष सिफारिस गरिएको थियो ।

सञ्चालक समिति अन्तर्गत रहेको दावी भुक्तानी तथा पुनर्बीमा समितिले गरेको सो निर्णय अध्यक्ष कुनाल कयालले कार्यान्वयन त गरेनन् नै उल्टै बीमा समितिमा आफ्नै समितिले गरेको निर्णय विपरित उजुरी दर्ता गरेको पाइएको छ ।

मरेको कुखुराको बीमा गर्नु बीमाको सिद्धान्त विपरित हो । सेटिङमा अध्यक्ष कयाल सहितको टोली अग्रिम रुपमा दावी भुक्तानी दिएर रचिएको सो काण्डमा अहिले अध्यक्ष कयाल पानीमाथिको ओभानो बन्न बीमा समितिमा मुद्दा दर्ता गरेको देखिएको छ । अध्यक्ष कयालले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र आफू एउटै जिल्लाका भएकोले मुद्दा आफ्नै पक्षमा फैसला आउने भन्दै चर्चा गर्ने गरेको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*