सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता

११ फाल्गुन २०७८, बुधबार १७:५६

काठमाडौं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित संस्थाको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा बीमा समितिका अध्यक्ष सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता कायम राख्न तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस ) को कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सम्झौताबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष ओलीले बीमा कम्पनीहरूमा (एनएफआरएस ) को कार्यान्वयन र सुशासन कायम गर्ने सन्दर्भमा दुई संस्थाबीचको सहकार्य महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।
बीमा व्यवसायको दिगो विकासका लागि सहकार्य गर्ने, बीमा कम्पनीका वित्तीय गतिविधिहरूलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाई ंसंस्थागत सुशासन कायम गर्ने र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षा गर्ने उद्देश्यले समिति र संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतामा बीमा कम्पनीहरूमा (एनएफआरएस ) को कार्यान्वयनमा सहजीकरण गर्न तालिम कार्यक्रम आयोजना तथा यससम्बन्धी प्राविधिक परामर्श आदान प्रदान गर्ने, बीमा कम्पनीका वित्तीय विवरण तथा प्रतिवेदनको अध्ययन तथा विश्लेषणका सम्बन्धमा आपसी राय परामर्श आदान प्रदान गर्ने र बीमा कम्पनीका लेखापरीक्षणको राय तथा त्यसले पार्न सक्ने असरको विश्लेषण गर्न सहकार्य गर्ने उल्लेख छ ।

यसैगरी, बीमा कम्पनी र कम्पनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाका सदस्यहरूलाई समिति वा संस्थाले गरेको कारवाहीका बारेमा एकआपसमा जानकारी गराई यस सम्बन्धमा आवश्यक सहकार्य गर्ने तथा संस्था र समितिबाट जारी भएका विभिन्न निर्देशिकाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

त्यस अवसरमा बीमा समितिका कार्यकारी दिर्नेशक राजुरमण पौडेल र निर्देशकद्वय पूजन ढुङ्गेल(अधिकारी) तथा दिनेश कुमार लाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष भाष्करसिंह लाला तथा कार्यकारी निर्देशक सञ्जय सिन्हा उपस्थित थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*