उतारचढावकाबीच दोहोरो अंकले घट्यो नेप्से, हाइड्रोपावर सूचक चम्कियो
११ फाल्गुन २०७८, बुधबार १५:१४
काठमाडौं । साताको चौथो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १७ अंकले बढेको नेप्से परिसूचक आज १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँको कारोबार भएको छ ।
यसहप्ता नेप्सेमा कारोबार खासै सन्तोषजनक देखिएको छैन । अघिल्ला केही महिनाहरुमा १० अर्बमाथिको कारोबार हुने शेयरबजारमा यस साता ४ अर्बभन्दा माथि कारोबार उक्लिन सकेको छैन ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये हाइड्रोपावर समूह र म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । हाइड्रोपावर समूहको ३५.६६ रुपैयाँ र म्युचुअल फण्ड समूहको ०.१३ रुपैयाँले बढेको छ भने सर्वाधिक निर्जीबन बीमा समूहमा ११० रुपैयाँले घट्न पुगेको छ ।