नयाँ स्टक एक्सचेन्जको लाईसेन्स लिन माफियाको समुह सक्रिय, अध्यक्ष हमाललाई फसाउने तयारी

९ फाल्गुन २०७८, सोमबार १०:२४

काठमाडौं । नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा दुई वटा स्टक एक्सचेन्ज चाहिन्छ भन्दै यतिबेला मिडियामार्फत लविङ भइरहेको छ । हिजो एक दैनिक पत्रिकामार्फत सुरु भएको दोस्रो स्टक एक्सचेन्जको कथा अबका दिनमा सबै मिडियामा भाइरल बनाउने गरी माफियाको गिरोहले काम गरिरहेको छ । अहिले मिडियामार्फत स्टक एक्सचेन्जलाई लाइसेन्स दिनुपर्ने भन्दै लविङ भइरहेको छ ।

यसअघि पनि माफियाको गिरोहले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स हात पार्ने प्रयास नगरेका होइनन् । तर, यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा दुई वटा स्टक एक्सचेन्ज आवश्यक नरहेको भन्दै फर्काइदिएका थिए । डा. खतिवडापछि अर्थमन्त्री बनेका विष्णु पौडेलले माफियाको गिरोहसँग मिलेर लाइसेन्स दिने तयारी सुरु गरे । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ठूलो रकम घुस सेटिङमा लाइसेन्स दिने प्रयत्न गर्दा गर्दै केपी ओली नेतृत्वको सरकार ढलेपछि दोस्रो स्टक एक्सचेन्ज खोल्ने निर्णय त्यतिकै रोकिएको थियो ।
अहिले नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएसँगै विष्णु पौडेललाई घुस खुवाउने माफियाको गिरोहले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स लिने पुरानो सेटिङलाई अघि बढाउने योजना अघि बढाएका छन् ।

बोर्डमा अध्यक्ष बनेर रमेश हमाल आएका छन् । उनी आफै पनि माफियाका लागि काम गर्ने एजेन्ट भएको आरोप अध्यक्ष नबन्दै लागेको थियो । उनले अध्यक्षको रुपमा पदभार ग्रहण गरेकै दिन साना लगानीकर्ताहरुको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष हमालले लाईसेन्स दिने भनेर कही कतै भनेका छैनन् । तर, हमालले पदभार सम्हालेर आफ्नो कार्ययोजना बनाउन नपाउँदै मिडियाबाट नयाँ स्टक एक्सचेन्ज नभई बर्वाद भए जसरी कन्टेन्टहरु आइरहेका छन् । माफियाको गिरोहले मिडियामार्फत अध्यक्ष हमाललाई नयाँ स्टक एक्सचेन्जको लागि मनोबैज्ञानिक दवाव दिइरहेको देखिन्छ ।

झोलामा पैसा बोकेर हिडेका माफियाहरुले नयाँ लाइसेन्स लिने प्रक्रियामा बालुवाटार देखि खुमलटारसम्ममा सहमति गराउन अहिले मिडिया क्याम्पेन सुरु गरिएको देखिएको छ । अध्यक्ष नियुक्त भएकै दिनबाट नयाँ लाइसेन्सको बारेमा लविङ सुरु हुनुले धितोपत्र बोर्डका अध्यक्ष माफियाका डिजाईनमा काम गर्न नियुक्त भएको हो कि ? भन्ने आशंका समेत पैदा भएको छ ।

भर्खरै नियुक्त भएका अध्यक्ष हमाल नयाँ स्टक एक्सचेन्जको दर्ता गर्न खोज्ने माफियाहरुको गिरोहबाट सचेत हुनुपने भएको छ । पुँजिबजारको विकास स्थायित्वको लागि पनि हमालले कसैको दवाव र प्रभावमा नपरी काम गर्नुपर्ने देखिएको छ ।

पुँजि बजारको दीर्घकालिन र रणनीतिक योजना बनाउने प्रस्तुतिकरण दिएर अध्यक्ष बनेका हमाल माफियाको सेटिङ भत्काएर नेपालको पुँजि बजारको हित रक्षा गर्न सक्लान वा माफियाले बगाउने भेलसँगै बग्लान त्यो प्रतिक्षाको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*