ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदन दिन संकलन केन्द्र थप
काठमाडौं । फागुन २ गतेबाट स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर (आइपीओ) निष्काशन गरेको ग्रीन भेञ्चर्स लिमिटेडले आवेदन दिन संकलन केन्द्र थप गरेको छ । यसअघि कम्पनीले स्थानीय बैंकका शाखा कार्यालयबाट मात्रै आवेदन दिन सकिने भनिएकोमा आवेदन दिने केन्द्र थप गरेको हो ।
सो अनुसार अब उक्त क्षेत्रका स्थानीय बासिन्दाहरुले लक्ष्मी बैंक लिमिटेड, मंथली रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, अयोजना स्थल, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, र मंथली रामेछाप र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौंबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणको आईपिओ जारी गरिएकोले आयोजना प्रभावित स्थानीयबासीले मात्रै भर्न पाउनेछन् ।
यही फागुन १६ गतेसम्म स्थानीयबासीले उक्त आईपिओ आवेदन दिन सकिने कम्पनीले जनाएकोछ । कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर प्रभावितलाई बिक्री गर्ने छ । उनीहरुले १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर पाउने छन् ।
प्रभावित क्षेत्र खिजिदेम्बा गाउँपालिका १, २, ९, रामेछापको उमाकुण्ड गाउँपालिका–७ का बासिन्दाले सेयर पाउने छन् । सो बाहेकका अन्य सर्वसाधारणले उक्त आईपिओमा आवेदन दिन पाउने छैनन् ।
सो आईपिओमा कम्तिमा १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो आईपिओमा मेरो शेयरबाट आवेदन दिन पाइने छैन ।
स्थानीयका लागि सेयर निष्कासन गरेपछि दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि जारी गर्ने छ ।
कम्पनीले ओखलढुंगामा लिखु–४ परियोजना निर्माण गर्दैछ । यो ५२.४ मेगावाट क्षमताको आयोजना हो । ग्रिन भेन्चर्स संघाई ग्रुपले प्रबद्र्धन गरेको कम्पनी हो । कम्पनीले फागुनको तेस्रो वा चौथो साता सर्वसाधारण सबैले भर्न मिल्ने गरी आईपिओ जारी गर्ने तयारी गरिरहेको छ ।