खिलुङ कालिका एग्रो काण्डमा जनरल इन्स्योरेन्सको तीन करोड ५० लाख डुब्यो, नेपाल पुनर्बीमाद्धारा भुक्तानी नदिने निर्णय

२ फाल्गुन २०७८, सोमबार १०:१५

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आवश्यक प्रक्रिया पूरा नगरी खिलुङ कालिका एग्रोलाई दावी भुक्तानी गरेको तीन करोड ५० लाख रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले नतिर्ने निर्णय गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको केही पहिले बसेको सञ्चालक समितिको बैठकले जनरल इन्स्योरेन्सले खिलुङ कालिका एग्रोको बीमा पोलिसी नै त्रुटीपूर्ण रहेको, बीमा सिद्धान्तभन्दा विपरित गई बीमा पोलिसी जारी गरिएको र पुनर्बीमा कम्पनीसँगको ट्रिटी (५० लाख भन्दा बढि अनुमति लिनुपर्ने) उल्लंघन गरेकोले साढे तीन करोड बीमा दावी भुक्तानी नगर्ने निर्णय गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीले जनरल इन्स्योरेन्स कम्पनीलाई खिलुङ् कालिका एग्रोलाई भुक्तानी गरिएको तीन करोड ५० लाख रुपैयाँ पुनर्बीमा बापत भुक्तानी नगर्न नसकिने पत्र पठाइसकेको छ । जनरल इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार सो पत्र हाल गोप्य राखिएको छ ।

कम्पनीले बीमा समितिमा वित्तिय विवरण अन्तिम स्वीकृतिका लागि पठाउन लागेको र सो अघि पत्र सार्वजनिक भएमा प्रोभिजन गर्नुपर्ने भएकोले पत्र सार्वजनिक नगरिएको हो ।

नेपाल पुनर्बीमा कम्पनीले खिलुङ कालिका एग्रोलाई भुक्तानी गरिएको रकम नतिर्ने निर्णय गरेसँगै जनरल इन्स्योरेन्स कम्पनीको वित्तिय विवरण प्रभावित हुनेछ । हालसम्म लिन बाँकी रकममा राखिएको सो रकम अब प्रोभिजन गर्नुपर्ने भएपछि कम्पनीको मुनाफा घट्नेछ ।

कम्पनीका उच्च व्यवस्थापन मिलेर घटाइएको खिलुङ–कालिका घोटाला (प्रक्रिया नपु¥याई तीन करोड ५० लाख रुपैयाँ भुक्तानी) काण्डमा कम्पनी आफैले गरेको छानविनमा अध्यक्ष कुनाल कयाल, तत्कालिन महाप्रबन्धक एसके तमोट, उप महाप्रबन्धक तथा लेखा प्रमुख निल बराली, प्रबन्धक प्रदिप यादवलगायतका संलग्नता रहेको निष्कर्ष निकालिएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीले खिलुङ कालिका एग्रोको दावी भुक्तानी नगर्ने निर्णयसँगै जनरल इन्स्योरेन्स कम्पनीमा दुई वर्ष पुरानो विवाद पुनः व्यूतिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*